जेनजी आन्दोलनमा झापामा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोईनसहित पक्राउ

दमक– गएको भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’का क्रममा प्रहरीको हतियार खोस्ने घटनामा संलग्न रहेका एक युवक झापामा लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले शनिबार साँझ दमक नगरपालिका–३ वेलडाँगी भुटानी शरणार्थी शिविरमा खैरो हेरोइन बिक्री र सेवनको तयारीमा रहेका आठ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार साजन थापाको घरमा छापा मार्दा कोठाभित्र लागुऔषध सेवन र बिक्री वितरणको तयारी भइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। खोजतलासीका क्रममा चश्माको खोलभित्र लुकाइ राखिएको खैरो हेरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामा वेलडाँगी भुटानी शिविर, दमक–३ का साजन थापा, दिपेश तामाङ, सनम राई, आदित्य लिम्बु, पविन विश्वकर्मा, सुचन दर्जी, वेलडाँगी शिविर सेक्टर ‘बी–२’ का बिजय माझी, र मोरङ मिक्लाजुङ–४ का निश्चल पोर्तेल रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये निश्चल पोर्तेल यसअघि इलाका प्रहरी कार्यालय उर्लाबारीमा लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको बेला हिरासतबाट फरार भएका व्यक्ति हुन्। उनी भदौ २४ गतेको जेन्जी आन्दोलनका दिन प्रहरी हिरासत तोडेर भागेका थिए।

त्यसैगरी, पक्राउ परेका आदित्य लिम्बु जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुटपाटमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ। घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय स्रोतका अनुसार वेलडाँगी शिविर पछिल्ला महिनाहरूमा लागुऔषध कारोबारको केन्द्र बन्दै गएको छ। प्रहरीले भने शिविर क्षेत्रमा निगरानी बढाउने र नियन्त्रण अभियान तीव्र पार्ने तयारी गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट