झगडा नियन्त्रण गर्न पुगेको प्रहरीमाथि खुकुरी र बन्चरो प्रहार, गोली चल्यो
हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा झगडा नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि प्रहरीले गोली चलाएको छ। लागूऔषध सेवन गरी झैझगडा गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि बियरको बोत्तल, खुकुरी र बन्चरो प्रहार भएको हो।
घटनामा एक असई घाइते भएका छन् भने प्रहरीको गोली लागेर एक युवक पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ८ बजे मकरीमा केही व्यक्तिहरूले लागूऔषध सेवन गरी झगडा गरेका थिए। त्यसपछि प्रहरी चौकी पदमपोखरीबाट टोली खटिएको थियो।
प्रहरी टोली त्यहाँ पुगेर झगडामा संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्ने क्रममा स्थिति एकाएक नियन्त्रणबाहिर गएको प्रहरीले जनाएको छ। डीएसपी पुष्कर बोगटीका अनुसार सोधपुछको क्रममा उपस्थित युवाहरूले अचानक प्रहरीमाथि आक्रमण सुरु गरेका थिए। आक्रमणकारीहरूले असई दिलबहादुर तामाङमामाथि बियरको बोत्तल प्रहार गरेका थिए भने खुकुरी र बन्चरो प्रयोग गरेर ज्यान लिने प्रयास गरेका थिए।
आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड गोली चलाएको थियो। गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौंडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन्। गोली तितुङको पेटको दाहिने भागमा लागेको प्रहरीले जनाएको छ।
घटनापछि तामाङ र तितुङ दुवैलाई उपचारका लागि मकवानपुरस्थित चुरेहिल अस्पतालमा भर्ना गरिएको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। घट्नापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप प्रहरी टोली परिचालन गरिएको थियो। डीएसपी बोगटीको कमाण्डमा पुगेको उक्त टोलीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा हेटौंडा–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङ छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ। पक्राउ परेका जिम्बा, थिङ र गोली लागेर घाइते भएका तितुङ यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको छ। उनीहरू लागूऔषध कारोबार, ज्यान मार्ने उद्योग तथा चोरीका घटनामा समेत संलग्न रहेको प्रहरीको दाबी छ।
