जेन–जी आन्दोलनमा ‘टीओबी’ लेखेको टिसर्ट र पेस्तोलसहितको तस्बिरः प्रहरी अनुसन्धानले उघार्दैछ घुसपैठको पर्दा

काठमाडौँ— जेन–जी आन्दोलनको नाममा सडकमा देखिएको अराजक भीडको वास्तविक्ता विस्तारै खुल्न थालेको छ। सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको एउटा तस्बिरले आन्दोलनको ‘स्वतःस्फूर्त’ भन्ने भास्य नै गलत सावित गरिरहेको छ।

सामाजिक सञ्जालमा टीओबी (Tibetan Origin Blood) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको फोटो सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमै हलचल मच्चिएको छ। फोटो साँझको समयमा खिचिएको देखिन्छ, सम्भवतः बिजुलीबजार पुलतिर। एक युवकले आफ्नो पाइन्टको पछाडीतर्फ पेस्तोल घुसाइरहेको देखिन्छ। पछाडिबाट यो दृष्य अर्का एक युवकले नियालिरहेका छन्। फोटोमा कुनै सम्पादनको संकेत नदेखिएपछि प्रहरीले यो तस्बिर ‘सक्कली’ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

स्रोतका अनुसार यो तस्बिर जेन–जी आन्दोलनककै क्रममा खिचिएको हुनसक्छ, जब कालो टिसर्ट र मास्क लगाएका युवाहरूले समूहगत रूपमा प्रदर्शनलाई हिंसात्मक बनाएका थिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराई भन्छन्, ‘तस्बिर र सम्बन्धित भीडीओ फुटेजहरू संकलन भइरहेको छ। ती व्यक्तिको पहिचान गरेर नियन्त्रणमा लिने कार्य तीव्र रूपमा भइरहेको छ।’

तर प्रश्न त्यहीँ टुंगिँदैन— आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्टमा देखिएका युवाहरू को हुन? के उनीहरू तिब्बती मूलका हुन? के यो आन्दोलनमा घुसपैठ गरी अराजक तत्वले उक्साउने प्रयास थियो?

यही शंका अहिले ‘टीओबी’ टिसर्टधारी युवकहरूको गतिविधिले थप बल पाएको छ। गत भदौ २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनमा प्रहरी कार्यालयहरूमा आक्रमण, आगजनी र हतियार लुटपाटका घटनाहरू भएका थिए। यसैक्रममा राजधानीमै आन्दोलनका नाममा पेस्तोलसहित युवा देखिनुले केवल ‘सामाजिक असन्तुष्टि’ लाई मात्रै देखाउँदैन, संगठित घुसपैठ र राजनीतिक आवरणमा अराजक गतिविधिको संकेत पनि गरेको छ।

सामाजिक सञ्जालमा फैलिएका भिडिओ र तस्बिरहरूमा देखिएका यी युवाहरूलाई केही समूहले ‘क्रान्तिकारी नयाँ पुस्ता’ भन्दै बचाउने प्रयास गरेका छन्। तर ती युवाहरूको हातमा बन्दुक र भाषामा घृणा देखिँदा त्यो क्रान्ति भन्दा बढी गैरजिम्मेवार हिंसा र विदेशी प्रभावको छाया झल्किएको विश्लेषकहरु वताउँछन्।

यदि तस्बिरको व्यक्ति र हतियारबीचको सम्बन्ध प्रमाणित भयो भने यो केवल एउटा फोटो होइन— देशको आन्तरिक सुरक्षा सन्तुलनमा देखिएको सबैभन्दा ठोस चेतावनी हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट