‘हिपोक्रेसी’को आरोपपछि ईः ईःलाई बालेन्द्रको जवाफः आउनुस्, तपाईंलाई अध्यक्ष मानेर म कार्यकर्ता बन्न तयार छु

काठमाडौँ– सामाजिक अभियन्ता ईः ईःले हिपोक्रेसी (द्वैधचरित्र) को आरोप लगाउँदै केपी ओली, दुर्गा प्रसाई र बालेन्द्र साहबीच कुनै ठोस भिन्नता नभएको टिप्पणी गरेपछि मेयर बालेन्द्र साहले उनलाई नै अध्यक्ष मानेर आफू कार्यकर्ता बन्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
सञ्जालमार्फत फेसवुकमा ईः ईःको आलोचनात्मक पोस्टमा प्रतिकृया दिँदै बालेन्द्रले व्यङ्ग्यात्मक कमेण्ट गरेका हुन। उनले लेखेका छन—‘८० बर्ष पुग्दा पनि आफु पीएम बन्ने, आफु अध्यक्ष बन्ने देशमा मैले ३५ बर्षकै उमेरमा तपाईंहरु आउनुस, देश चलाउनुस भनिरको छु त, ई सर ! सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस, तपाईंहरु पनि लिडर बन्नुस ! म तपाईं लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस ! म कार्यकर्ता बन्न तयार छु! देश मलाई नै छोड्ने हो भने त, म, बिना एक जना मन्त्री एक्लै देश बनाईदिन सक्छु, तर यस्तो कुराले म बन्छु, देश बन्दैन !’
यो प्रतिक्रिया ईः ईःले गरेका तीव्र टिप्पणीको प्रतिउत्तरमा आएको हो। ईः ईःले आफ्नै पोस्टमा लेखेका थिए—‘समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु – केपी, बालेन, दूर्गा जस्ता पात्रहरू बीच फेस भ्याल्यूमा बैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुनसक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकशित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन्।’
उनले आफनो पोष्टमा थप कमेण्ट गरेपनि ओली, दुर्गा र बालेन्द्रको शैलीको टिप्पणी गरेका छन्। उनले लेखेका छन्–‘डरलाग्दो कुरा के हो भने अधिकांश समय तिनलाई तिनको निष्कर्षनै अन्तिम सत्य हो जस्तो लाग्छ र त्यसैमा अभिमानी, अडीग रहनुमानै निष्ठा र देशभक्ति देख्छन्। यी पात्रमा तिनले गलती गर्नसक्छन् भन्ने चेत छैन।’
ईः ईःको यस टिप्पणीले सामाजिक सञ्जालमा व्यापक बहस सुरु ग¥यो। बालेनले त्यसमा प्रतिक्रिया दिँदा धेरैले त्यसलाई व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको भनाइ एकातर्फ आत्मरक्षात्मक प्रतिक्रिया हो भने अर्कोतर्फ देशमा पुरानो नेतृत्वले लम्ब्याउँदै आएको सत्तासंस्कृतिप्रति व्यंग्य पनि हो। उनी पछिल्ला समयदेखि ‘पुराना दलहरूको अहंकार’ र ‘स्वतन्त्र नेतृत्वप्रति असहिष्णुता’ विरुद्ध खुलेर बोलिरहेका छन्।
बालेन्द्र र ईः ईः दुवै सामाजिक सञ्जालका चर्चित पात्र हुन्। बालेन्द्र हाल काठमाडौँ महानगरको मेयरका रूपमा स्थापित छन् भने ईः ईः सामाजिक, राजनीतिक र बौद्धिक विषयमा तीक्ष्ण टिप्पणीका लागि परिचित छन्। बालेन्द्रको यस प्रतिक्रियाले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ।
लोकप्रिय
ताजा अपडेट

आफुलाई ‘आधा नेपाली’ भन्ने टीओबी नेता तेन्जिन दावाको जन्मदर्ता शंकास्पदः ‘श्री ५ को सरकार’ र नेपाल सरकारको छाप, शनिबार दर्ता
