‘टीओबी’ ज्याकेटधारी तेन्जिन दावाको जन्मदर्ता र सिफारिस दुवै फर्जी, नागरिक्ता नक्कली

काठमाडौँ — जेनजी आन्दोलनमा ‘मलाई मेरो देश फिर्ता चाहिन्छ’ भन्ने नारा लगाउँदै तोडफोड र हिंसात्मक प्रदर्शनमा देखिएका टीओबी (टिबेटन ओरजिनल ब्लड) का संस्थापक तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहरिएको खुलेको छ।
काठमाडौँ महानगरपालिका–६ बाट बनाइएको जन्मदर्ता र नागरिकता सिफारिस दुवै फर्जी प्रमाणित भएपछि उनीमाथि थप अनुसन्धान सुरु भएको छ। टीओबी लेखिएको कालो ज्याकेट लगाएर बुलेट बाईक पड्काउँदै प्रदर्शनमा मिसिएको तेन्जिनको समुहले आन्दोलनलाई हिंश्रक बनाउन मद्धत गरेको थियो।
लामाले प्रदर्शनका क्रममा सरकार ढाल्ने उक्साहटपूर्ण नारा लगाएका थिए थिए। लगत्तै उनले पेस्तोल बोकेको फोटो र भीडीओ समेत सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। अनुसन्धानमा उनले प्रयोग गरेको नागरिकता, जन्मदर्ता र सिफारिस सबै नक्कली भएको पत्ता लागेपछि प्रकरण राष्ट्रिय सुरक्षा र प्रशासनिक अखण्डताको सवाल बनेको छ।
प्रहरी स्रोतका अनुसार तेन्जिन दावा लामाको जन्मदर्ता ०६३ साल चैत १० गते शनिबारका दिन बनाइएको देखिएको छ। जन्मदर्तामा श्री ५ को सरकार र नेपाल सरकार दुवै छाप प्रयोग भएको छ। सो जन्मदर्ता महानगरपालिकाको ढड्डामा भने पाईएको छैन। वडाध्यक्ष भुवन लामाले ‘हामीले ढड्डामा केही भेटेनौं’ भन्दै आधिकारिक रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र पठाउने तयारी भएको बताए।
काठमाडौं महानगरपालिकाले समेत ‘सो सिफारिस हामीले गरेका होइनौं’ भन्दै प्रहरीलाई पत्र पठाइसकेको पुष्टि भएको छ। नागरिकता सिफारिसको ढड्डा भने भदौ २४ गतेको आगलागीमा डढाइएको पाइएको छ, जसले प्रमाण मेटाउने प्रयास भएको आशंका थप बलियो बनाएको छ। जिल्ला प्रशासन कार्यालयले पनि सोही फर्जी जन्मदर्ताको आधारमा नागरिकता जारी गरेको देखिएको छ।
प्रहरीका अनुसार तेन्जिनले सोही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी समेत बनाइसकेका थिए। ती दस्तावेजका आधारमा उनी अष्ट्रेलिया जाने तयारीमा रहेका बेला पक्राउ परेका हुन्। हाल उनी प्रहरी हिरासतमा छन्।
प्रहरीले अभद्र व्यवहार र नक्कली पेस्तोल प्रदर्शन गरी आम जनमानसमा डर र त्रास सिर्जना गरेको अभियोगमा पनि अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत २७ असोजमा ६ दिनको म्याद दिएर अनुसन्धान सुरु गरेको थियो, जसलाई थप ६ दिनका लागि वढाईएको छ।
पेस्तोल बोकेको भिडियो भने जेनजी आन्दोलनको समयमा नभई करिब एक वर्ष पुरानो भएको पुष्टि भएको छ। उनले कम्मरको पछाडि पेस्तोलजस्तो देखिने वस्तु बोकेको देखिन्छ, जुन नक्कली भएको प्रहरीको निष्कर्ष छ।
यो प्रकरणले नेपालको नागरिकता वितरण प्रणालीमा गम्भीर कमजोरी रहेको र सरकारी अभिलेखमा पहुँच भएका कर्मचारीहरू घुस र प्रभावमा बिकेर राज्यको ढोका विदेशी घुसपैठका लागि खोलिदिँदै आएको स्पष्ट संकेत गरेको छ।
यदि यस्तो घटनामा पनि सरकार र अदालतले उदारता देखाए भने नागरिकता प्रकरण मात्रै होइन, प्रशासन र न्यायालय दुवै पुनः जनविश्वास गुमाउने जोखिममा पर्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।
हाल प्रहरी र प्रशासन दुवैले यसलाई ‘राज्य सुरक्षासँग जोडिएको संवेदनशील विषय’ मानेर गहिरो अनुसन्धान अघि बढाएका छन्।