स्टुडिओभित्रै आगोमा जल्दै गरेकी गायिका नितु पौडेललाई प्रहरीले गर्यो उद्धार

काठमाडौं — काठमाडौँको अनामनगरस्थित एक संगीत स्टुडिओभित्र शनिबार दिउँसो आगोले जल्दै गरेकी गायिका नितु पौडेललाई प्रहरीले उद्धार गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार पौडेलले आत्मदाह गर्ने प्रयास गरेकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दिउँसो करिब पौने ३ बजे अनामनगरस्थित एउटा स्टुडिओमा युवतीले आफैंमाथि आगो लगाएको जानकारी प्रहरीले पाएको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरीले स्टुडिओको ढोका फोरेर प्रवेश गरी पौडेललाई आगोको लप्काभित्रबाट उद्धार गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।
उद्धारका क्रममा त्यहाँ उपस्थित अर्का युवकले समेत नितुलाई बचाउने प्रयास गरेको बताइएको छ। प्रहरीका अनुसार ती युवक धनबहादुर गिरी (बाबुल गिरी) हुन्। दुवै जनालाई उद्धारपछि तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।
‘हामीले दुवै जनालाई उद्धार गरेका छौं। युवकले युवतीलाई बचाउने प्रयास गरेको प्रारम्भिक जानकारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले भने। आत्मदाह प्रयासको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले स्टुडिओभित्रको घटनास्थल सिल गरेर आवश्यक प्रमाण संकलन कार्य अघि बढाएको छ ।
अस्पतालका स्रोतका अनुसार दुवै जनाको शरीरमा आगोको असर परेको छ। उनीहरूको उपचार अहिले पनि कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ। चिकित्सकले प्रारम्भिक अवस्था गम्भीर नभएको भए पनि निरन्तर निगरानी आवश्यक रहेको बताएका छन्।
प्रहरीले नितु पौडेल र बाबुल गिरीबीचको सम्बन्ध र घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमान अनुसार यो घटना व्यक्तिगत तनाव वा सम्बन्धगत विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार उद्धारपछिका भिडियो फुटेज र स्टुडिओको सीसीटीभी समेत विश्लेषणको चरणमा छन्।