चौदण्डीमा मेयर सहभागी कार्यक्रम युवाहरुले विथोलेः मेयर र उपमेयर भागे, वडाध्यक्ष युवाको नियन्त्रणमा

बेल्टार (उदयपुर)– उदयपुरको चौदण्डिगढी नगरपालिकास्थित हडिया बजारमा आज बिहान वडास्तरीय शुभकामना आदान–प्रदान कार्यक्रममा स्थानीय युवाले हस्तक्षेप गरी कार्यक्रम विथोलेका हुन्।

दशैं, तिहार र छठ पर्वको अवसरमा वडा नम्बर ९ र १० ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा युवाहरुको समूहले ब्यानर च्यात्दै, कुर्सी फालेर कार्यक्रम विथोलेको प्रत्यक्षदर्शीले वताए।

उनिहरु अनुसार, कार्यक्रम सुरु हुने तयारीमै रहेको बेला युवाहरुको एक समूह अचानक पुगेको थियो। कुर्षी फाल्दै ब्यानर च्यात्न थालेपछि मेयर कालुमान लामा, उपमेयर मणिकादेवी दुलाल र वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउत भागेका थिए।

त्यसै क्रममा जनउत्थान सहकारी संस्थाका अध्यक्षसमेत रहेका वडा नम्बर १० का अध्यक्ष धर्मेन्द्र कुमार खड्कालाई भने स्थानीय युवाहरुले नियन्त्रणमा लिई हडिया बजारकै एक पसलमा राखेका छन्। उनीहरूले जनउत्थान सहकारीमा लगानी गरिएको शेयर रकम फिर्ता गर्न दबाब दिइरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार जनउत्थान सहकारी संस्थामा करिब २ सय सदस्य छन्। हरकको ५ हजारको शेयर छ। संस्थाले यसअघि प्रदेश सरकारबाट ८ लाख र चौदण्डी नगरपालिकाबाट १५ लाख रुपैयाँ अनुदान लिएर सञ्चालनमा ल्याएको स्रोतले जनाएको छ।

अहिले युवाहरुले ‘सहकारीले रकम हिनामिना गरेको’ आरोप लगाउँदै सबै सदस्यको रकम फिर्ता नहुँदासम्म वडाध्यक्षलाई नगर छोड्न नदिने चेतावनी दिएका छन्। घटनापछि हडिया बजार क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ।

स्रोतका अनुसार प्रशासनले घटनालाई सहकारी विवादसँग जोडेर अनुसन्धान थाल्ने तयारी गरेको छ। स्थानीयले भने यो घटना लामो समयदेखि चल्दै आएको आर्थिक अनियमितताको परिणाम भएको बताएका छन्।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बविन राईले भने मेयर सावहरुले कार्यक्रम गर्ने भनेपछि स्थानीय युवाहरुले अवरोध गरेको वताए। ‘कार्यक्रम गर्न नदिने भनेपछि वहाँहरु फर्किनु भो। वडाध्यक्षलाई नियन्त्रणमा लिएको भन्ने कुरा हामीसम्म आएको छैन।’ उनले भने–‘त्यहाँ हाम्रो युनिट छ। त्यस्तो जानकारी आएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट