लेटाङमा १३ वर्षीया बालिकाको वीभत्स हत्या, शव जंगलभित्र फेला
विराटनगर– मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम दुई सातादेखि बेपत्ता थिइन्। शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव टाउको र शरीर छुट्टिएको, सडेको र दुर्गन्धित अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार अंशु असोज २१ गते दिउँसो घरबाट निस्केकी थिइन्। र त्यसपछि सम्पर्कविहीन बनेकी थिइन्। शव फेला परेपछि गाउँमा शोक र त्रास फैलिएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार शव नजिक अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट भेटिएका छन्। धारिलो हतियार प्रयोग वा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। प्रहरीले शवलाई पोष्टमार्टमका लागि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। पोस्टमार्टम र फरेन्सिक परीक्षणपछि मात्रै घटनाको वास्तविकता प्रस्ट हुनेछ।
अंशु लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् र विपन्न परिवारकी सदस्य थिइन्। वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले घटनालाई योजनाबद्ध हत्या ठम्याउँदै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न स्थानीयले माग गरेको बताए। प्रहरीले घटनास्थल वरिपरिका बासिन्दासँग सोधपुछ गर्दै प्रमाण संकलन गरिरहेको छ।
स्थानीय र प्रहरीले बलात्कारपछि हत्या भएको आशंका व्यक्त गरेका छन्। घटनाले गाउँमा त्रास र शोक सिर्जना गरेको छ।
