आईजीपी खापुङ भन्छन्ः जेनजी आन्दोलनको नाममा अपराध गर्नेहरूलाई कठोर कारवाही हुन्छ

काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेन–जी आन्दोलनको नाममा आपराधिक गतिविधि गर्नेहरूलाई कठोर कारबाही हुने चेतावनी दिएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आईजीपी खापुङले आन्दोलनका नाममा समाजलाई धमिल्याउने, आतंक फैलाउने र तोडफोडजस्ता गतिविधि बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले यस्तो अवस्थालाई नेपाल प्रहरीले दृढतापूर्वक नियन्त्रणमा लिने प्रतिबद्धता पनि जनाए।

‘जेनजी आन्दोलनको बहानामा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरू सक्रिय भएका छन्,’ आईजीपी खापुङले भने, ‘त्यो वास्तवमा गलत हो र त्यो आपराधिक कार्य नै हो। त्यस्ता कार्यमा संलग्न जो कोही पनि दण्डित हुनेछन्। उनीहरूलाई क्रमशः कारबाही गरिँदैछ भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त गराउन चाहन्छु।’

उनले जेनजी आन्दोलनपछिका घटनाहरूले सुरक्षाप्रणालीलाई चुनौती दिएको स्वीकार गर्दै, नेपाल प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै हालतमा पछि नहट्ने स्पष्ट गरे। उनका अनुसार, प्रहरीको प्राथमिकता समाजमा शान्ति र स्थायित्व कायम राख्नु हो र त्यसका लागि आवश्यक सम्पूर्ण कदम चालिनेछ।

‘हामीलाई जुनसुकै चुनौती आए पनि शान्ति, सुरक्षा र कानूनी शासन कायम राख्ने हाम्रो दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि हट्दैन,’ उनले भने। ‘हामी स्थानीय जनताको सहयोगमा फेरि पनि प्रत्येक प्रहरी चौकी पुनः सञ्चालनमा ल्याउन सफल भएका छौं। यसले हाम्रो मनोबल घटेको होइन, झन् मजबुत भएको प्रमाणित गरेको छ।’

आईजीपी खापुङले आन्दोलनका क्रममा कतिपय आपराधिक समूहहरूले राजनीतिक आडमा आफ्नो स्वार्थसिद्धिका लागि अव्यवस्था फैलाएको आरोप पनि लगाए। उनका अनुसार, यस्ता समूहहरूलाई अब पहिचान गरेर कानुनी कारबाहीमा ल्याउने काम तीव्र गतिमा भइरहेको छ।

‘अहिले समाजलाई धमिल्याउने प्रयास गर्नेहरू प्रहरीको निगरानीमा छन्,’ उनले भने, ‘त्यस्ता तत्वहरूलाई कानूनी दायरामा ल्याएर समाजमा शान्ति पुनःस्थापना गर्न हामी प्रतिबद्ध छौं।’

उनले प्रहरी संगठनको मनोबल खस्किएको भन्ने दाबीहरू असत्य भएको बताउँदै, ‘नेपाल प्रहरी अझ सशक्त, अनुशासित र जनउत्तरदायी’ रूपमा अघि बढिरहेको बताए। उनले जनतालाई प्रहरीमाथि विश्वास कायम राख्न आग्रह गर्दै, ‘हाम्रो लक्ष्य अपराध नियन्त्रण मात्र होइन, नागरिकमा विश्वास पुनस्र्थापना गर्नु पनि हो’ भने।

जेन–जी आन्दोलनपछि विभिन्न ठाउँमा प्रहरी चौकी, सरकारी कार्यालय र निजी सम्पत्तिमा भएका तोडफोड तथा आगजनीका घटनाहरूको प्रभाव अझै कायमै रहेको बताइन्छ। प्रहरी संगठनले ती घटनामा संलग्नहरूलाई पहिचान गरी एकपछि अर्को पक्राउ कार्य अघि बढाइरहेको जनाएको छ।

आईजीपी खापुङको वक्तव्यले आन्दोलनको नाममा हुने हिंसात्मक क्रियाकलापप्रति सरकारले कडाइ अपनाउने संकेत गरेको देखिन्छ। उनले आन्दोलन र अपराधबीचको सीमारेखा स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरीको भूमिकालाई जिम्मेवार बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट