भीमफेदी कारागारबाट भागेका कैदीको नवलपरासीमा हत्या, पाँच जना पक्राउ
नवलपरासी— जेन–जी आन्दोलनपछि उत्पन्न अराजक अवस्थाका बीच मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीमा हत्या भएको छ।
नवलपरासीका एसपी युवराज खड्काका अनुसार ७ देखि ८ जनाको समूहले २८ वर्षीय नारायण कुमालको शुक्रबार साँझ गैंडाकोट क्षेत्रमा हत्या गरेको हो। मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन्।
हत्या प्रकरणमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा सुराकीका आधारमा व्यापक खोजतलास गरिएको र अन्य सम्भावित संलग्न व्यक्तिहरूको पहिचान भइरहेको बताइएको छ।
कुमाल भदौ २४ गते भीमफेदी कारागारबाट अन्य कैदीहरूसँगै भागेका थिए। उनीमाथि बलात्कारको आरोपमा अदालतले १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। २०७४ साउन ३ गते पक्राउ परेका कुमाललाई अदालतको आदेशअनुसार कारागारमा राखिएको थियो।
फरार कैदीको हत्या भएपछि प्रहरी प्रशासनले यसलाई गम्भीर रूपमा लिएको छ। हाल नवलपरासी, चितवन र मकवानपुर प्रहरीबीच समन्वय गरी घटनाको पृष्ठभूमि, प्रतिशोध वा समूहगत आक्रोशका कोणबाट अनुसन्धान अघि बढाइएको जनाइएको छ।
