एमाले महासचिव पोखरेल विरुद्ध सुवोधराज प्याकुरेलको प्रहारः कृतघ्नता र बेशर्मीको पनि हद हुन्छ
काठमाडौँ — मानव अधिकारकर्मी सुवोधराज प्याकुरेलले एमाले महासचिव शंकर पोखरेलमाथि तीखो प्रहार गर्दै गैरसरकारी संस्थामाथि (गैसस) आरोप लगाउने प्रवृत्तिलाई ‘कृतघ्नता र बेशर्मीको पराकाष्ठा’ भनेका छन्। उनले हालको सत्तारुढ नेतृत्वले आफ्नो असफलता र कमजोरी लुकाउन नागरिक समाज र गैससहरूलाई बलिको बोको बनाउने खेल खेलिरहेको आरोप लगाएका छन्।
फेसबुकमा लामो टिप्पणी गर्दै प्याकुरेलले प्रश्न उठाएका छन्, ‘गैरसरकारी संस्थालाई राजनीतिक कार्यको स्टेकहोल्डर बनाउने कार्य नै त्रुटीपूर्ण थियो कि सरकारले आँखा चिम्लिएको गैससलाई स्टेकहोल्डर बनाउने कार्य त्रुटिपूर्ण थियो?’ उनका अनुसार सबै गैससलाई एउटै थैलीमा हालेर दोष लगाउने कार्यले लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको योगदानमाथि नै प्रश्न उठाएको छ।
कार्तिक ५ गते प्रधानमन्त्रीसँग भएको सर्वदलीय बैठकमा एमाले महासचिव शंकर पोखरेलले ‘आन्दोलनमा गैससहरूको संलग्नता’ बारे टिप्पणी गरेपछि प्याकुरेलले तीव्र प्रतिक्रिया जनाएका हुन्। उनले पोखरेलको अभिव्यक्तिलाई ‘आफ्नो कमजोरी ढाक्न गरिएको कमजोर प्रयास’ भनेका छन्। प्याकुरेलले लेखेका छन्, ‘आफू तोपले पनि नढल्ने बलियो सरकारको मुखियागिरी गरिरहेको बेला दुई वर्षभन्दा बढी समयदेखि सरकारविरुद्ध सञ्चालन भइरहेका अभियानको जानकारी नपाउने, नलिने हुस्सुहरुले गर्ने प्रलाप यही हो।’
उनले आरोप लगाएका छन्–‘सरकारका अनेक निकाय र स्थानीय तह समाजकल्याण परिषद्को नियमनमा रहनुपर्नेमा केही गैससले कुख्यात ठाउँबाट करोडौँ ल्याए र बेहिसाब खर्च गरे, तर केपी ओलीको सरकारले त्यसमा आँखा चिम्लियो। सरकार आफैं बोक्सी र आफैं झाँक्री भयो।’ प्याकुरेलले शंकर पोखरेललाई व्यक्तिगत रूपमा पनि आक्रामक शैलीमा आलोचना गर्दै भनेका छन्–‘नालायकले मात्र आफ्नो नालायकीपन अरूलाई दोष लगाएर उम्किन खोज्छ। पोखरेल पाइलैपिच्छे हुस्सु, विवादित र मूर्ख सावित भइरहेका छन्, जबकि उनी नै केपीका आधिकारिक विज्ञका रूपमा प्रस्तुत हुन्छन्।’
प्याकुरेलले इतिहासको सन्दर्भ पनि जोड्दै ०६२–६३ को आन्दोलनको समयमा एमालेका नेताहरूले नै गैसस महासंघमा सहयोग माग्न आएको स्मरण गराएका छन्। उनले लेखेका छन्, ‘०६२–६३ को आन्दोलनमा यही पार्टीका नेता गुहार माग्न आएका थिए। हामीले शर्त राख्यौँ र सात दलका मुखियाले टुँडीखेलमा आत्मालोचना गर्दै आयन्दा बिगतको गल्ती नदोहो¥याउने बाचा गरे। त्यसपछि हाम्रो पहल र अगुवाईमा देशव्यापी आन्दोलनको श्रीगणेश भयो।’
उनले अहिले त्यही संगठन र व्यक्तिहरूलाई दोष दिने कार्यलाई ‘कृतघ्नता’ भनेका छन्। प्याकुरेलको भनाइमा, ‘कृतघ्नता र बेशर्मीको पनि हद हुन्छ। यस्तै मतिले राज्यको नेतृत्व पाइन्छ?’ फेसबुक पोस्टको अन्त्यमा उनले दलका नेताहरूलाई आत्मसंयम अपनाउन चेतावनी दिँदै लेखेका छन्, ‘अरु स्खलित हुने बाटोमा नलाग्नुस्। दलको पदाधिकारी हुनुहुन्छ, मालिक होइन। हजारौँको त्याग, बलिदान र संघर्षले एमालेलाई हुर्काएको हो। उनीहरूको लाज राख्न सिक्नुस्। अब हद भयो, अब रोकिनुस्।’
