संसद पोलिँदा लाइभ गरेर अमनप्रताप अधिकारीको गालीः भने– ‘देखिस, जल्यो तेरो देश।’

काठमाडौँ— जेन–जी आन्दोलनका क्रममा देखिएको अराजकता र त्यसमा संलग्न केही चर्चित व्यक्तिहरूको नाम क्रमशः खुल्दै गएको छ। सिंहदरबारदेखि संसद भवनसम्म आगजनी र तोडफोडमा संलग्नताको आरोप अब केन्द्रीय पात्रहरूसम्म मात्र सीमित छैन, बरु मनोरञ्जन क्षेत्रमा चर्चित केही व्यक्तिहरूसमेत अनुसन्धानको दायरामा आइरहेका छन्।

स्रोतका अनुसार आन्दोलनको प्रारम्भिक योजना र त्यसपछिका गतिविधिमा काठमाडौँका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’ का अध्यक्ष सुधन गुरुङ, रास्वपाका केन्द्रीय नेता गणेश कार्की, पूर्वमन्त्री एवम् रास्वपाकै पूर्व नेतृ सुमना श्रेष्ठ, पूर्वसांसद डाक्टर तोसिमा कार्की लगायतको भूमिका पहिले नै विवादमा थियो।

तर, पछिल्लो अनुसन्धानले देखाएको छ— आन्दोलनको भीडलाई भड्काउने, फेसबुक लाइभ र सामाजिक सञ्जालमार्फत भीडलाई उत्तेजित गर्ने कार्यमा कलाकारहरूसमेत सक्रिय थिए। त्यसै क्रममा अभिनेता तथा निर्माता दिपकराज गिरी, निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको नाम पनि सार्वजनिक चासोको केन्द्रमा छ।

यी कलाकारहरूले आन्दोलनको भावनालाई समर्थन गर्दै पटक–पटक ‘राज्यले केही दिएन’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए। आन्दोलनलाई समर्थन पनि गरे। गिरी र वस्नेत आन्दोलनमै देखिएपछि सामाजिक सञ्जालमा उनिहरुको विषयमा ठूलो विवाद निम्तिको छ।

अब यिनै चर्चाको क्रममा अर्को नाम अगाडि आएको छ— अमनप्रताप अधिकारी। अमनप्रताप अधिकारी, जो पूर्व ए–डिभिजन फुटबल खेलाडी, कमेन्टेटर र हालका रियालिटी शो होस्ट हुन्, उनी जेन–जी आन्दोलनका क्रममा संसद भवन आगजनी भएको पृष्ठभूमिमा फेसबुक लाइभमा देखिएका थिए।

संसद भवनमा आगो लागिरहेका बेला अधिकारीले आफ्नै पेजबाट लाइभ गर्दै आपत्तिजनक शब्दहरू प्रयोग गर्दै हर्ष व्यक्त गरेको भिडिओ अहिले पनि उनको वालमै उपलब्ध छ। भिडिओमा अधिकारीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपशब्द प्रयोग गर्दै भनेका छन्, ‘देखिस, जल्यो तेरो देश।’ उनले क्याप्सनमा लेखेका थिए— ‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन।’ भिडिओमा उनले प्रयोग गरेका अश्लील र आपत्तिजनक शब्दहरूले नागरिक समाज र उनका नजिकका मित्रहरू समेत अचम्ममा परेका छन्।

अमनप्रताप नेपालका प्रख्यात कवि स्वर्गीय क्षेत्रप्रताप अधिकारीका कान्छा छोरा हुन्। उनका बुबा २०४३ सालमा राष्ट्रिय पञ्चायतका सदस्य र शिक्षा राज्यमन्त्री रहेका थिए। साहित्यिक पृष्ठभूमिबाट आएका अमन नेपालको पहिलो साहित्यिक रियालिटी शो द पोयट आइडल का परिकल्पनाकार र निर्देशक हुन्।

त्यसैकारण, उनी जस्तो सांस्कृतिक क्षेत्रका व्यक्ति संसद भवन जलाउने दृश्यमा ‘उल्लास व्यक्त गर्दै’ देखिनु अहिलेको राजनीतिक र सामाजिक संवेदनशीलताको दृष्टिले निकै गम्भीर मानिएको छ।

यता, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले पनि आन्दोलनको नाममा अराजकता फैलाउने र अपराधमा संलग्न हुनेहरूलाई कानूनी दायरामा ल्याइने चेतावनी दिएका छन्। उनले भनेका छन्््, ‘जेन–जी आन्दोलनको बहानामा समाजलाई धमिल्याउने अपराधीहरू दण्डित हुनेछन्।’

हाल प्रहरी स्रोतका अनुसार आन्दोलनका भिडमा घुसपैठ गर्ने र योजनाबद्ध रूपमा हिंसा फैलाउने व्यक्तिहरूको पहिचान भइरहेको छ। तीमध्ये कतिपय सेलिब्रिटी अनुहारहरू पनि ‘प्रभावको आडमा’ नछुट्ने बताइएको छ।

जेन–जी आन्दोलनले देशमा नयाँ राजनीतिक बहस ल्याएको भए पनि, त्यसकै छायामा चलाइएका आपराधिक गतिविधिहरू र त्यसमा चर्चित व्यक्तिहरूको संलग्नता अब राज्यका अनुसन्धान निकायका लागि सबैभन्दा गम्भीर प्रश्न बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट