किराना पसलमा चोरी भएको विषयमा सिरहामा लफडाः एक महिलाको हत्या, तीन जना पक्राउ
लहान — सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिक पर्तीटोलमा मंगलबार बिहान भएको एक घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। किराना पसलमा सामान चोरी भएको निहुँमा कुटपिट गर्दा एक महिलाको ज्यान गएको छ।
स्थानीय मोहम्मद सदिक मियाँकी ५० वर्षीया श्रीमती नुरजहाँ खातुनलाई केही व्यक्तिले ‘चोरीको आरोप लगाएको’ भन्दै निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी खातुनलाई स्थानीयले तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतक खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिक किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। उनले मंगलबार बिहान एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै युवकका हजुरबालाई गुनासो गरेकी थिइन्। त्यसपछि ‘मेरो नातिलाई चोर भन्ने’ भन्दै सोही परिवारका सदस्यहरूले उनमाथि आक्रमण गरेको स्थानीयको भनाइ छ।
घटनापछि गाउँमा त्रास फैलिएको छ। स्थानीयवासीहरूले प्रहरी प्रशासनसँग अपराधीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
