आफैले खुकुरी हानेर हत्या गर्न खोजेका ब्यक्तिकै घरमा डेरा खोज्न पुगेपछि पक्राउ परे सप्तरीका विष्ट र खोटाङका राई

काठमाडौँ– ललितपुरमा ट्याक्सी चालकलाई खुकुरी प्रहार गरेर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका दुई युवक ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेपछि फरार थिए। तर, करिब १० महिनापछि मुख्य आरोपी आफैंले आक्रमण गरेका पीडितकै घरमा डेरा खोज्दै पुगेपछि पुनः पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा खोटाङका २८ वर्षीय सिमन राई र सप्तरी घर भई भक्तपुर बस्दै आएका २६ वर्षीय बलकुमार बिष्ट छन्। राईलाई प्रहरी प्रभाग हरिसिद्धिको टोलीले ललितपुरबाट पक्राउ गरेपछि उनको बयानका आधारमा बिष्टलाई पनि नियन्त्रणमा लिइएको हो। दुवैजनामाथि ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

घटनाको सुरुआत ०८२ साल भदौ २ गते बिहान झिसमिसेमै भएको थियो। हरिसिद्धिका ट्याक्सी चालक बद्री नगरकोटी यात्रु खोज्दै खरिबोट चोक पुगेका थिए। त्यही बेला राई र बिष्टले ठैबस्थित ब्लु बर्ड स्कुलसम्म छाडिदिन आग्रह गरे। यात्रुको प्रतीक्षामा रहेका नगरकोटीले उनीहरूलाई ट्याक्सीमा राखे।

बा ९३४५ नम्बरको ट्याक्सी बिहान करिब ३ बजेतिर सुनसान सडक हुँदै अघि बढिरहेको थियो। ट्राफिक चाप न्यून भएकाले सवारी सहज गतिमा चलिरहेको थियो। तर, गन्तव्य नजिकिँदै गर्दा चालक नगरकोटीमाथि अकस्मात् खुकुरी प्रहार भयो।

प्रहरी अनुसन्धानअनुसार पछाडिको सिटमा बसेका राई र बिष्टले चलिरहेको ट्याक्सीमै नगरकोटीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका नगरकोटीले ‘बचाऊ’ भन्दै चिच्याएपछि बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले उनलाई उद्धार गरेर अस्पताल पु¥याएका थिए।

आक्रमणपछि दुवै आरोपी फरार भएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले लुटपाटको उद्देश्यसहित हमला गरेको खुलेको थियो। घटनापछि प्रहरीले खोजी तीव्र बनाएर केही दिनमै उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउपछि सातदोबाटो प्रहरीले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

तर, भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी वृत्त सातदोबाटोमा आगजनी भएपछि हिरासतमा रहेका राई र बिष्ट भाग्न सफल भएका थिए। त्यसयता उनीहरू फरार सूचीमा थिए। घटनाको सबैभन्दा रोचक र चकित पार्ने पक्ष भने त्यसपछि देखियो।

खुकुरी आक्रमणबाट बाँचेर उपचारपछि घरमै आराम गरिरहेका नगरकोटीलाई आफूलाई आक्रमण गर्ने व्यक्ति फरार रहेको जानकारी थियो। प्रहरीले खोजी गरिरहेको सूचना उनीसम्म पुगिरहेकै थियो। तर, फरार आरोपी एकदिन आफ्नै घरको ढोकामा डेरा खोज्दै आइपुग्लान भन्ने उनले कल्पनासमेत गरेका थिएनन्।

गत जेठ ९ गते सिमन राई हरिसिद्धिस्थित नगरकोटीकै घरमा कोठा खोज्दै पुगे। घरमा एउटा कोठा खाली रहेकाले नगरकोटीले उनलाई डेरा दिन सहमति जनाए। राईले आफूहरूसँग दुई जना बस्ने बताएपछि सामान्य प्रक्रियाअनुसार बसाइ सुरु भयो।

विडम्बना के थियो भने, नगरकोटीले सुरुमा उनलाई चिन्न सकेनन्। उता राईले पनि आफूले खुकुरी प्रहार गरेका व्यक्ति उनै घरधनी हुन् भन्ने चाल पाएनन्। तीन दिनसम्म एउटै घरमा बस्दा पनि दुवै पक्षले एकअर्काको पहिचान खुलाउन सकेनन्। तर, त्यसपछि नगरकोटीले सामान्य शंकाका आधारमा राईसँग परिचयपत्र मागे। राईले सहजै नागरिकता दिए।

नागरिकतामा नाम र ठेगाना देखेपछि नगरकोटी झस्किए। उनलाई पुरानो घटना सम्झना आयो। आफूलाई खुकुरी प्रहार गर्ने व्यक्ति यही हुनसक्ने आशंकापछि उनले नजिकैको प्रहरी चौकीमा जानकारी गराए। प्रहरीसमक्ष उनले पहिलाको पक्राउ विवरण र कागजातसमेत भिडाए।

प्रहरीले विवरण परीक्षण गर्दा फरार आरोपी र डेरा बस्न आएका युवक एउटै व्यक्ति भएको पुष्टि भयो। त्यसपछि प्रहरीले नगरकोटीकै घरबाट राईलाई नियन्त्रणमा लिएको थियो। पछि उनको सम्पर्कका आधारमा बिष्टलाई पनि पक्राउ गरिएको हो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार फरार भएपछि आरोपीहरू लामो समय लुकेर बसिरहेका थिए। तर, उनीहरूले पहिचान खुल्ने जोखिम नठानी पुरानै क्षेत्र रोज्दा अन्ततः पक्राउ परेका हुन्। प्रहरीले अहिले दुवैजनामाथि ज्यान मार्ने उद्योग, हिरासतबाट फरार तथा आपराधिक गतिविधिसम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट