अरु देशको सरकार परिवर्तन र दशकौंको हस्तक्षेपवादी नीतिले अमेरिकाको छवि बिगार्योः अमेरिकी गुप्तचर निर्देशक
काठमाडौँ– अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले अमेरिकी विदेश नीतिको दिशा र उद्देश्यबारे कठोर आलोचना गरेकी छिन्। उनले पछिल्ला धेरै दशकदेखि अमेरिका अन्य देशहरूमा हस्तक्षेप गर्दै, सरकार परिवर्तन र राष्ट्र निर्माणको नाममा असफल र हानिकारक नीति अपनाउँदै आएको बताएकी छिन्।
बहराइनमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा अध्ययन संस्थाद्वारा आयोजना गरिएको वार्षिक सुरक्षा सम्मेलन ‘मनामा डाइलग’ मा सम्बोधन गर्दै गबार्डले भनिन्, ‘अमेरिकाको विदेश नीति दशकौँदेखि गलत दिशामा अघि बढ्दै आएको छ। हामीले हरेक समस्याको एउटै उपाय खोज्यौं — अरू देशका शासन प्रणाली ढाल्ने, आफ्नै शासन थोपर्ने र नबुझिएका द्वन्द्वमा हस्तक्षेप गर्ने।’
उनले यस्तो नीति अमेरिकाको लागि मात्र होइन, विश्वकै स्थायित्वका लागि पनि विनाशकारी भएको टिप्पणी गरिन्। ‘हाम्रो नीति दशकौँदेखि एक अन्तहीन र प्रतिकूल चक्रमा फसेको छ। यसका परिणाम भयावह छन् — खरबौँ डलर खर्च, असंख्य ज्यानको क्षति र अझ ठूलो सुरक्षा खतरा।’– उनले भनिन्।
गबार्डका अनुसार, अमेरिकाले अरू देशहरूमा शासन परिवर्तन गर्ने पुरानो नीति राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा समाप्त भएको हो। उनले राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले मानवअधिकार र लोकतन्त्र प्रवद्र्धनका अघिल्ला लक्ष्यहरू परित्याग गरी आर्थिक समृद्धि र क्षेत्रीय स्थायित्वमा जोड दिएको बताइन्।
उनका अनुसार, अमेरिकाले अब मध्यपूर्वमा युद्धभन्दा कूटनीति र सहकार्यमा जोड दिन थालेको छ। ‘गाजामा इजरायल–हमास युद्ध अन्त्य गराउने युद्धविराम सम्झौता र इरानका परमाणु केन्द्रहरूमा अमेरिकी दबाब सिर्जना गरी १२ दिने युद्ध रोक्ने प्रयास यसै परिवर्तनको उदाहरण हुन्,’ उनले भनिन्।
गबार्डले थपिन्, ‘अमेरिकाले दशकेदेखि अपनाउँदै आएको हस्तक्षेपवादी नीति नबुझिएका द्वन्द्वहरूमा गहिरो रूपमा फस्ने कारण बनेको छ। यसले अमेरिकालाई मित्रभन्दा बढी शत्रु बनायो, जसको असर हाम्रो अन्तर्राष्ट्रिय छविमा पनि प¥यो।’
अमेरिकी विदेश नीतिको यस आलोचनामा उनले ९÷११ आतङ्कवादी आक्रमणपछि भएका युद्धहरूको पनि उल्लेख गरिन्। उनका अनुसार, ती युद्धहरूले न त अमेरिकी सुरक्षालाई बलियो बनाए, न त विश्वमा शान्ति स्थापना गर्न सके।
गबार्डले सन्देश दिँदै भनिन्, ‘अब अमेरिकाको प्राथमिकता विश्वका अन्य देशमा शासन परिवर्तन होइन, विश्वास निर्माण र साझेदारीमा आधारित सम्बन्ध विस्तार गर्नुपर्छ।’
उनका अनुसार, अमेरिकाले यदि स्थायी शान्ति, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय विश्वसनीयता कायम गर्न चाहन्छ भने, पुरानो ‘सरकार परिवर्तन’ र ‘राष्ट्र निर्माण’ नीतिबाट पूर्ण रूपमा टाढा रहनुपर्नेछ।
ट्रम्पले आफ्नै कार्यकालमा यो दिशामा कदम चालेका थिए। उनले अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने निर्णय गरेर हस्तक्षेपवादी युगको अन्त्यको संकेत दिएका थिए। गबार्डको भनाइसँग मेल खाने गरी ट्रम्पले सन् २००१ को सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणपछि भएका युद्धहरूको बारम्बार आलोचना गर्दै आएका छन्। उनले अमेरिकाले अब युद्ध होइन, आर्थिक साझेदारी र आत्मनिर्भरता केन्द्रित विदेश नीति अपनाउनुपर्ने धारणा प्रस्तुत गर्दै आएका छन्।
गबार्डको अभिव्यक्तिले अमेरिकाको विदेश नीति अब नयाँ मोडमा प्रवेश गर्न लागेको सन्देश दिएको छ — जहाँ शासन परिवर्तन होइन, शान्ति, सहकार्य र दीर्घकालीन स्थायित्व नै अमेरिकी कूटनीतिको आधार बन्ने देखिन्छ।

