पत्रकार मञ्जु कार्कीको खुलासाः कूटनीति बिर्सिएर छिमेकी मुलुकलाई अश्लील गाली गर्नुअघि बालेन्द्रको ‘मदिरा पार्टी’
काठमाडौँ— शनिबार मध्यरातमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अमेरिका, भारतलगायत प्रमुख छिमेकी राष्ट्र र देशका राजनीतिक दलहरूलाई लक्षित गर्दै अश्लील गाली गरेको पोस्ट अहिले देशभर चर्चामा छ।
फेसबुकमा अंग्रेजी भाषामा गालीगलौजपूर्ण स्टाटस लेखेका बालेनले केही मिनेटमै पोस्ट डिलिट गरे पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालभर भाइरल बनेको छ। राजनीतिक दलहरूविरुद्धको आक्रोश सामान्य रुपमा लिइए पनि मित्र राष्ट्रहरूप्रति कूटनीतिक मर्यादा बिर्सिएको भन्दै बालेनमाथि तीव्र आलोचना भइरहेको छ।
अमेरिकादेखि भारतसम्मका सम्बन्धमा समेत असर पर्ने गरी सार्वजनिक पदमा रहेका व्यक्तिले अश्लील गाली गर्नुले ‘राजनीतिक अस्थिरता र वैदेशिक सम्वन्धमा असज वातावरण सिर्जना गरेको’ टिप्पणी विश्लेषकहरूले गरेका छन्।
यही बीचमा पत्रकार मञ्जु कार्कीले बालेनको विवादित पोस्ट लेखिनु अघि ललितपुरस्थित ‘संस्कार फाइन डाइन एन्ड इभेन्ट्स’ नामक रेस्टुरेन्टमा उनले मदिरा पार्टी गरेको दाबी गरेकी छिन्। कार्कीका अनुसार शनिबार दिउँसो बालेन आफ्ना चार–पाँच जना साथीसँग त्यहाँ पुगेका थिए र बारम्बार मदिरा थपिरहेका देखिएका थिए।
कार्कीले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्, ‘म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिएँ। बालेन त्यहाँ साथीहरूसँग बसेका थिए। बारम्बार गिलास थप्दै गरेको देखेँ। त्यसबेला सामान्य लागेको थियो, तर राति उनले लेखेको अश्लील पोस्ट देखेपछि अनुमान ठ्याक्कै मिल्यो।’
तर कार्कीको दाबी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुबै पक्षका समर्थकबीच हंगामा मच्चिएको छ। बालेनका समर्थकहरूले कार्कीमाथि ‘प्रमाणबिना आरोप लगाएको’ आरोप लगाइरहेका छन् भने कार्कीले आफूले देखेको कुरामात्र सार्वजनिक गरेको जिकिर गरेकी छिन्।
उनले थपेकी छिन्, ‘जो–कोही ललितपुरको होटलमा पुगेर सीसीटीभी फुटेज हेरे हुन्छ। मलाई गाली गर्नु अघि सत्य जाँच गर्नुस्।’ उक्त विवादले अब बालेनको छवि थप विवादग्रस्त बनाएको छ। सार्वजनिक पदमा रहेर अश्लील गाली, कूटनीतिक संवेदनशीलता तोड्ने भाषा र व्यक्तिगत अनुशासनबारे फेरि प्रश्न उठ्न थालेका छन्। बालेनले भने अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।

