टीओबी ग्रुपका तेन्जिन दावाका बुबा नै नक्कलीः न बुबाले छोरा चिने, न छोराले बुबा

काठमाडौँ— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन भुमिका खेलेका ‘टीओबी ग्रुप’का संस्थापक तेन्जिन दावा लामाको नागरिकता अहिले ठूलो विवादको केन्द्रमा पुगेको छ। प्रहरीले गरेको पछिल्लो अनुसन्धानले तेन्जिनले नक्कली बाबु खडा गरेर नेपाली नागरिकता बनाएको देखिएको छ।

तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए। तर प्रहरीको खोजीपछि काठमाडौं महानगरपालिका–६ बौद्धमा बस्दै आएका कृष्णबहादुरलाई पत्ता लगाई जब ललितपुर प्रहरी परिसरमा तेन्जिनसँग आमनेसामने गराइयो, दुवैले एकअर्कालाई चिनेनन्। ‘नत कृष्णवहादुरले तेन्जिनलाई चिने, नत तेन्जिनले कृष्णबहादुरलाई’– एक प्रहरी अधिकृतले भने।

यस घटनापछि नागरिकता किर्ते गरी बनाइएको ठहरमा पुगेको प्रहरीले अब यो घटनालाई गम्भीर आपराधिक घट्नाका रुपमा अनुशन्धान अघि वढाएको । नागरिकता बनाउन पेस गरिएका जन्मदर्ता लगायतका कागजातहरू जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी हुँदा जलेर नष्ट भएकाले प्रमाण संकलनमा समस्या आएको प्रहरीको भनाइ छ।

काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार, तेन्जिनले पेस गरेका विवरण वडाको अभिलेखमा कतै फेला परेको छैन। उनका अनुसार, ‘वडाको ढड्डा हेर्दा न जन्मदर्ता भेटियो, न नागरिकताको सिफारिस।’ यसले तेन्जिनको नागरिकता शंकास्पद भएको पुष्टि गर्छ। अहिले उनीविरुद्ध किर्ते र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले पत्ता लगाएको विवरणअनुसार, तेन्जिनको जन्मदर्ता २०६३ चैत १० गतेको मितिमा गरिएको देखिन्छ भने नागरिकता २०७९ साल असारमा जारी भएको हो। तर यी कागजातहरूको रेकर्ड काठमाडौं महानगरको अभिलेखमा कतै भेटिएन।

२६ असोजमा पक्राउ परेका तेन्जिनविरुद्ध सुरुमा प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको थियो। तर अनुसन्धान अघि बढ्दै जाँदा उनीमाथि किर्तेको मात्रै होइन, लागुऔषधको समेत मुद्दा थपियो। उनको कोठा खानतलासी गर्दा प्रहरीले गाँजा र सञ्चार उपकरण वाकिटकी पनि बरामद गरेको थियो। सो उपकरण प्रयोगका लागि अनुमति पत्र (लाइसेन्स) नलिएको खुलेको छ।

एसपी पवनकुमार भट्टराईका अनुसार, ‘कागजात फर्जी मात्र होइन, वाकिटकी र गाँजा बरामद भएपछि उनीविरुद्ध थप मुद्दा दर्ता गरिएको छ।’ तेन्जिनले भने आफूलाई ट्याटु आर्टिस्ट र बाइक राइडरका रूपमा परिचय दिएका छन्।

प्रहरीको दाबी अनुसार, जेनजी आन्दोलनका समयमा टीओबी समूहका सदस्यहरू बुलेट मोटरसाइकल पड्काउँदै भीडमा घुसपैठ गरेका थिए। त्यसपछि फेसवुकमा सार्वजनिक भएको एउटा भीडीओ नेन्जिनले पेस्तोलजस्तो वस्तु बोकेको देखिएको थियो, त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको अर्को तथ्य के हो भने यो समूह दुर्गा प्रसाईंको नेतृत्वमा गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा पनि प्रयोग गरिएको थियो। प्रहरी अधिकारीहरूका अनुसार, ‘उनीहरूलाई पेट्रोल र रिचार्ज खर्च दिएर आन्दोलनमा पठाइन्थ्यो।’

तेन्जिन पेसाले ट्याटु आर्टिस्ट हुन्। केही समयअघि सम्म उनी बौद्धमा कोठा लिएर ट्याटु खोप्ने काम गर्थे। उनका शरीरभरि ट्याटु नै ट्याटु छन्, जसलाई उनी ‘सीक्ने क्रममा बनाएको’ भन्छन्। पछिल्लो समय उनी बाइक राइडमा बढी सक्रिय थिए र ‘टीओबी’ लेखिएको कालो ज्याकेट लगाउँथे, जसको अर्थ उनले ‘तिब्बतीयन ओरिजिनल ब्लड’ बताएका छन्।

हाल प्रहरीले तेन्जिनको वास्तविक पहिचान र पृष्ठभूमि पत्ता लगाउने प्रयास गरिरहेको छ। उनले आफु आधा तिब्बतियन र आधा नेपाली भएको दावी गर्छन। जेनजी आन्दोलनमा उनले ‘हामीलाई हाम्रो देश फिर्ता चाहियो’ भन्दै नारा लगाएका थिए।

अब अनुसन्धानको मुख्य प्रश्न उब्जिएको छ — तेन्जिन दावा लामाको वास्तविक पिता को हुन? र, कसरी उनले नक्कली बाबुको नाम प्रयोग गरेर नेपाली नागरिकता लिन सफल भए? यो रहस्यमय प्रकरणले अहिले प्रहरी प्रशासनमा ठूलो चासो उत्पन्न गरेको छ। एकातिर फर्जी नागरिकता, अर्कोतिर लागुऔषध र गैरकानुनी सञ्चार उपकरण। यि सवै प्रकरणले तेन्जिन दावा विस्तारै कानुनी जटिलमा फस्दै गएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट