सप्तरीमा हैजा, तीन जनाको मृत्युः ०७४ सालमै खुला दिशामुक्त घोषणा भएको बस्तीमा एउटा पनि छैन शौचालय
													राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमको मुसहरी टोलमा हैजा फैलिँदा एकै परिवारका तीन जनाको ज्यान गयो। ३० वर्षीय बुचन सदाका ६६ वर्षीय बुबा लक्ष्मण सदा, बुचनकी चार वर्षीया छोरी राघिनी र एक वर्षीय छोरा सञ्जिव अघिल्ला १५ दिनभित्रै मृत्युको मुखमा परे।
सञ्जिको कात्तिक ६ गते, लक्ष्मणको कात्तिक ११ गते र राघिनीको कात्तिक १४ गते उपचार नपाएरै मृत्यु भयो। उनीहरू सबैमा झाडापखाला र वाकवाकीका लक्षण देखिएका थिए।
मृत्युपछि गाउँमा एकैपटक ८० जना भन्दा बढी स्थानीय बिरामी परेपछि जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले हैजाको शंका गरेको थियो। संक्रमणको स्रोत पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली बस्तीमा पुग्यो। परिक्षणका क्रममा हैजा पुष्टि भएको छ। प्राथमिक परीक्षणका क्रममा पानी र सरसफाइसँग सम्बन्धित प्रदूषणका कारण रोग फैलिएको अनुमान गरिएको छ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामी अहिले पनि टोलभरि छन्। स्थानीय प्रमिलादेवी सदाकी पाँच वर्षीया छोरी सुगन्धी र देउरानी ३० वर्षीया निलमदेवी सदा पाँच दिनदेखि झाडापखालाले ग्रसित छन्। प्रमिलाका अनुसार उनीहरूलाई गाउँघरकै क्लिनिकबाट औषधि ल्याएर खुवाइएको छ।
प्रमिलाका श्रीमान् र देवर सात महिनादेखि भारतको पञ्जाबमा काम गरिरहेका छन्। उनीहरूले पनि पैसा नपठाएकाले झन् समस्या भएको सदाले बताइन्। सोही बस्तीका ६५ वर्षीय अरहुलिया सदा पनि तीन दिनदेखि झाडापखालाबाट पीडित छन्। पैसा नभएर उपचार गराउन राजविराजसम्म पनि जान नसकेको उनको गुनासो छ।
झाडापखालाले प्रभावित भएका जम्मा ९ जनाको आरडीटी (¥यापिड डायग्नोस्टिक टेस्ट) गर्दा ४ जनामा हैजा (कोलेरा भिब्रिओ कोलरी) पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले बताए। उनका अनुसार वडा सदस्य ६५ वर्षकी अरहुलियादेवी सदा र आरडीटीमा पोजेटिभ देखिएका सुरज सदाकी ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना छन्। पखाला लागेर सिकिस्त भएकी वडा सदस्य अरहुलियालाई आइतबार राति भर्ना गरिएको हो।
करिव ९० परिवारको यो दलित वस्तीमा एउटा पनि शौचालय छैन। सबै मानिसहरू अहिले पनि खुला ठाउँमा शौच गर्छन। छिन्नमस्ता गाउँपालिका ०७४ चैत १३ गते र सप्तरी जिल्ला ०७४ चैत २१ गते खुला दिशामुक्त क्षेत्र घोषणा भएका हुन। तर, सदा वस्तीमा अहिलेसम्म एउटा पनि शौचालय नबनेको स्थानीयले गुनासो गरेका छन्।
गाउँपालिकाले पटक–पटक योजना ल्याएको दाबी गरे पनि कार्यान्वयन कहिल्यै नभएको उनिहरु बताउँछन्। सदा टोलमा खानेपानीको पनि उचित व्यवस्था छैन। अधिकांश घरले सामूहिक चापाकलको प्रयोग गर्छन्। ती चापाकलहरू बस्तीको फोहोर र पशु गोबरको नजिकै रहेकोले दूषित पानी पिउन बाध्य छन्। यसले रोग फैलिन थप सहज वातावरण बनाएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले घटनापछि आकस्मिक बैठक बोलाएर स्वास्थ्य टोली परिचालन गरे पनि स्थानीयमा गुनासो छ— ‘मरेपछि मात्रै सरकार आउँछ। २०७४ सालमा कागजमै खुला दिशामुक्त घोषणा गरियो। घोषणाको बेला प्रतिव्यक्ति एक चर्पीको प्रतिज्ञा गरिएको भए पनि अहिलेसम्म त्यस्तो केही छैन।’
स्वास्थ्य कार्यालयका प्रमुखले तत्काल रोग नियन्त्रणका लागि क्लोरिनयुक्त पानी वितरण र सरसफाइ अभियान सुरु गरिएको बताए। तर, स्थानीयहरूले भने उपचारभन्दा पनि दीर्घकालीन समाधान चाहिएको बताएका छन्। ‘हामीलाई पानी र चर्पी चाहियो, होइन भने यो रोग वर्षेनी दोहोरिन्छ,’ एक स्थानीय महिलाले भनिन्।
हैजाका कारण तीन जनाको मृत्यु र ८० भन्दा बढी बिरामी परेपछि यो बस्ती अहिले त्रासमा छ। स्वास्थ्यकर्मीहरूका अनुसार दूषित पानी, खुला दिसा, जताततै फोहोरमैला र हिलोले संक्रमण फैलाउन सहयोग गरेको छ। स–साना बालबालिका र वृद्धहरू उच्च जोखिममा छन्।
राज्यले कागजमा मात्र ‘खुला दिशामुक्त नेपाल’ घोषणा गरे पनि मुसहरी टोलका बासिन्दा अझै पनि उही दुःख, उही दुर्गन्ध र उही रोगसँग लडिरहेका छन्। उनीहरूका लागि विकासका नाराहरू अझै ‘दिल्ली दुर है’ भने जस्तै छ।

