यलुङ रि हिमालमा भीषण हिमपहिरोः ५ विदेशी र २ नेपालीको मृत्यु, ४ बेपत्ता

काठमाडौँ– दोलखाको गौरीशंकर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ हिमश्रृंखलाको यलुङ रि हिमाल (५,६३० मिटर) मा परेको भीषण हिमपहिरोमा परेर ५ जना विदेशी र २ जना नेपाली आरोहीको ज्यान गएको छ। यो दुर्घटनामा ४ जना अझै बेपत्ता रहेका छन् भने ४ जना घाइते भएका छन्।

मृतकमध्ये ३ जना अमेरिकी, १ जना क्यानडेली, र १ जना इटालियन नागरिक रहेका छन्। उनीहरूसँगै रहेका दुई नेपाली पथप्रदर्शकको पनि मृत्यु भएको दोलखा प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले पुष्टि गरे।

घटना सोमबार बिहान करिब साढे ८ बजेको हो। यलुङ रि आरोहणका लागि ५ जना विदेशी र १० जना नेपाली गाइडहरूको टोली बिहानै बेसक्याम्पतर्फ हिँडेका थिए। आरोहण सुरु भएको केही घण्टामै उनीहरू हिमपहिरोको चपेटामा परे।

हिमपहिरोमा परेर बाँचेका घाइतेहरूले तत्काल ना गाउँमा रहेका साथीहरूलाई उद्धारका लागि सूचना पठाएका थिए। तर, मौसम खराबीका कारण उद्धारमा ढिलाइ भएको घाइते पथप्रदर्शकले बताएका छन्। उनका अनुसार, ‘हामीले रोइकराई गर्दै उद्धार गरिदिन आग्रह ग¥यौं, तर हेलिकप्टर चार घण्टापछि मात्र आउँछ भन्ने जानकारी पायौं। साथीहरू के अवस्थामा छन्, अहिले पनि ठ्याक्कै थाहा छैन,’ उनले भने।

स्थानीय स्रोतका अनुसार, आरोहण टोली यसअघि ६,३३४ मिटर उचाइको डोल्मा खाङ हिमाल आरोहणका लागि तयारीमा थियो। त्यसअघि अभ्यासका रूपमा उनीहरू यलुङ रि पुगेका थिए। टोलीले ना गाउँमा बास बसेर सोमबार बिहानै बेसक्याम्प प्रस्थान गरेको थियो।

दोलखा प्रहरीका अनुसार, सूचना ढिलो प्राप्त भएकाले उद्धारमा ढिलाइ भयो। ‘हामीले सूचना पाएलगत्तै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गरायौं,’ डीएसपी महतोले भने, ‘तर मौसम खराब भएकाले हेलिकप्टर उडान हुन सकेन। पैदल उद्धार पनि सम्भव थिएन।’

हिमपहिरो लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी उद्धारमा खटिएका छन्। सोमबार साँझ हेलिकप्टर ना गाउँ पुगेको भए पनि मौसम खराबीका कारण तत्काल उद्धार सम्भव नभएको प्रहरीले जनाएको छ। मंगलबार बिहानदेखि पुनः उद्धार प्रयास सुरु हुने जनाइएको छ।

स्थानीयहरूका अनुसार, केही दिनदेखि रोल्वालिङ क्षेत्रमा लगातार हिउँ परिरहेको थियो। आइतबारदेखि मौसम केही खुलेपछि आरोहण टोलीले यात्रा सुरु गरेको थियो। तर, स्थिर नभएको हिउँको थुप्रोले ठूलो हिमपहिरो निम्त्याएको अनुमान गरिएको छ।

यस दुर्घटनापछि रोल्वालिङ क्षेत्रका अन्य आरोहण टोलीहरूलाई पनि अस्थायी रूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सबै आरोही र पर्यटन कम्पनीलाई मौसम सुधार नहुन्जेलसम्म आरोहण नगर्न निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट