विराटनगर बाल सुधार गृहका प्रहरीलाई नै कुटेर भागे ७ जना कैदी !
विराटनगर — विराटनगरस्थित बाल सुधार गृहबाट बिहीबार साँझ सातजना कैदी फरार भएका छन्। प्रहरीका अनुसार फरार कैदीहरूले समूह बनाएर ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि कुटपिट गरेपछि गेट खोलेर भागेका हुन।
फरार हुनेमा सुधार गृहमा बस्दै आएका १८ वर्ष माथिका युवकहरू छन्। उनीहरू जबरजस्ती करणी, लागू औषध, हत्या लगायतका गंभीर अपराधमा संलग्न रहेका थिए। फरारमध्ये एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइसकेका छन् भने बाँकी ६ जना अझै फरार छन्।
बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार कार्यालय बन्द हुने समयमा समूह बनाएर कैदीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि भाग्न सफल भएका हुन्। प्रहरीका अनुसार फरार सबै कैदी १८ वर्षभन्दा माथिका छन्। सुधार गृहमा सुरक्षामा खटिने प्रहरीसँग सीमित हतियार मात्र हुने र २७–२८ वर्ष उमेर समूहका कैदीसमेत हुनाले सुरक्षा चुनौती थपिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालका अनुसार बाल सुधार गृहमा हाल २५५ जना बसिरहेका छन्। यसअघि जेनजी आन्दोलनका क्रममा २०६ जना कैदी फरार भएका थिए। तीमध्ये १९१ जना सम्पर्कमा आइसकेका थिए भने १५ जना अझै फरार रहेका थिए।
प्रहरीका अनुसार बिहीबारको फरार नयाँ अपराधमा संलग्न कैदीहरू हुन्। केही समयदेखि जेनजी आन्दोलनसँग सम्बन्धित समूहका बालकहरूले सुधार गृहभित्र हुलदङ्गा मच्चाउने गरेको सुरक्षा निकायले जनाएको छ। बाल सुधार गृहमा उमेर पुगेका युवा र ३० वर्षभन्दा माथिका व्यक्तिहरू पनि रहेका कारण विवाद, झडप र आन्दोलन नियमित रूपमा हुने गरेका छन्।

