भारतीय सुरक्षा निकायको निगरानीमा दुर्गा प्रसाईं, दिल्ली विमानस्थलमा ४० मिनेट केरकार गरेर छोडेको खुलासा
काठमाडौँ— विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई भारतबाट नेपाल फर्किँदै गर्दा भारतीय अध्यागमनका अधिकारीहरूले करिब ४० मिनेटसम्म रोकेर केरकार गरेको खुलासा भएको छ।
गत सोमबार भारत गएका प्रसाईं शुक्रबार साँझ नेपाल फर्कने क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। त्यहाँ अध्यागमन (इमिग्रेशन) अधिकारीहरूले उनलाई राकेका थिए। नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१८ बाट काठमाडौं फर्किने तयारीमा रहेका प्रसाईंको यात्रा र पृष्ठभूमिसम्बन्धी विवरणबारे अधिकारीहरुले सोधपुछ गरेका थिए।
दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार, प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको थियो। ‘उनी भारत पुगेको जानकारी पाएपछि भारतका सुरक्षा निकायले निगरानी बढाएका रहेछन्,’ ती अधिकारीले भने, ‘त्यसैले उनलाई फर्कँदा केहीबेर अध्यागमनमा रोकेर प्रश्न गरिएको हो।’
प्रसाईंलाई रोकेर गरिएको सोधपुछबारे दिल्लीस्थित नेपाली दूतावास र भारतका अध्यागमन अधिकारीबीच छलफल पनि भएको स्रोतले जनाएको छ। नेपाल एयरलाइन्सका अनुसार, प्रसाईं दिल्लीबाट शुक्रबार साँझ काठमाडौं फर्किएका हुन्। उनले प्रयोग गरेको उडान आरए–२१८ नियमित तालिकाअनुसार दिल्ली समय बिहान ९ बजे उडेको र ४ः४० बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम थियो।
यद्यपि, उक्त विमान बिहीबार मर्मतका कारण दिल्लीमै रोकिएको हुँदा केही ढिलाइ भएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्स स्रोतका अनुसार, उक्त विमान एआएईएसएल मर्मतशाला (एमआरओ) मा ब्रेक फ्यान जाँचका लागि ग्राउन्डेड गरिएको थियो र यो नियमित मर्मत प्रक्रिया नै थियो।
दिल्ली विमानस्थलमा अध्यागमनमा केरकार भइरहँदा प्रसाईंले हिन्दी भाषामा भारतीय नेताहरूसँग फोनमा सम्पर्क गरेको पनि त्यहाँ रहेका स्रोतहरूले बताएका छन्। उनले यसअघि पनि नेपाल एयरलाइन्सकै उडानमार्फत काठमाडौंबाट दिल्ली भ्रमण गरेका थिए। बोर्डिङ गेटमा भने उनले निगमका कर्मचारीहरूसँग कुनै औपचारिक वा अनौपचारिक कुराकानी गरेका थिएनन्। सो क्रममा पनि उनी इकोनमी क्लासको सिटमा यात्रा गरेका थिए।

