डिजाईन नक्कल गर्दा कमला पुल भासिएको खुलासाः ३० मिटरको ठाउँमा ८ मिटर पाइलिङ गरेर उभ्याइयो पुल
जनकपुर– सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल बन्न थालेको १५ वर्ष पुग्यो। तर, अझै पनि पुल निर्माणको काम सम्पन्न भएको छैन। खोला वार–पार गर्न सर्वसाधारणले वर्षौंदेखि सास्ती खेपिरहेका छन्। कहिले बाँसको पुलबाट, कहिले डुंगाबाट मोटरसाइकल तारेर, अनि कहिले भत्किएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नु सर्वसाधारणको नियति वनेको छ।
यो पुल निर्माणका लागि ३१ जेठ ०६८ सम्झौता भएको थियो। हुलाकी सडक निर्देशनालयका अनुसार २४ करोड ९० लाख ९७ हजार २ सय रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको पुल निर्माणको काम ३० मंसिर २०७१ भित्र सकिनुपर्ने थियो। डिजाइन एन्ड बोल्ड मोडालिटीमा पप्पु–लुम्बिनी जेभीले बनाइरहेको ४६९.२ मिटर लम्बाइ र १२ स्पान भएको पुल निर्माणमा हालसम्म २० करोड ४२ लाख ५२ हजार ४७ रुपैयाँ भुक्तानी भइसकेको छ।
तर, एक दशक लगाएर बनेको पुल निर्माणको अन्तिम चरणमा पुगेर उद्घाटनको तयारी हुँदै गर्दा १७ असार ०७८ को बाढीले भासियो। बाढीले पुलको पूर्वतिरबाट पहिलो र दोस्रो पिलर भासियो भने पहिलो, दोस्रो, दशौं र एघारौं स्ल्याब पनि क्षति भयो। सम्झौता अनुसार सञ्चालनमा आएको ५ वर्षसम्म कुनै क्षति भए निर्माण कम्पनीले बनाउनुपर्ने उल्लेख छ।
सोही अनुसार पुलको मर्मत सुरु भएको छ। तर, ४ वर्षदेखि भईरहेको मर्मत ‘कहिले पूरा हुन्छ ?’ भन्ने कुनै ग्यारेण्टी छैन। भत्केको पुलमा विभिन्न नेता, मन्त्री तथा सरकारी अधिकारीहरु अवलोकन गर्न आउँछ, तस्वीर खिचाउँछन् र सस्तो लोकप्रियता बटुल्छन्। तर, निर्माण कार्यलाई कसरी गति दिने भन्ने विषयमा कसैको योगदान देखिएको छैन।
पुल निर्माणको समयसीमा पछिल्लो समय थप गरी ३० असार २०८३ सम्म पुर्याइएको छ। हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोका अनुसार कम्पनीले टुटेको र भासिएको ठाउँमा पुनर्निर्माण गरिहेको छ।
तर, निर्माण कम्पनीले भने बीमा संस्थासँगको विवाद देखाउँदै क्षतिपूर्ति वापतको रकम प्राप्त नभएसम्म निर्माण कार्यलाई गति दिन नसक्ने बताइरहेको छ। यसका कारण समयमा पुनर्निर्माण गर्नु चुनौती रहेको निर्देशनालयले जनाएको छ। स्थानीयले भने यो पुल काम नलाग्ने अवस्थामा रहेकाले अर्को नयाँ पुल निर्माण गर्नुपर्ने माग गरिरहेका छन्।
यता, अख्तियार दुरुपयोग अनुशन्धान आयोगले पनि यो पुल निर्माणमा गम्भिर लापर्वाही भएकाले जोखिमपूर्ण रहेको दावी गरेको छ। लापरबाहीकै कारण पुल भासिएको र पुलको सम्पूर्ण संरचना नै गम्भीर जोखिममा रहेको आयोगको निष्कर्ष छ।
पुल भासिनुमा डिजाइन र कन्ट्रक्सन फल्ट प्रमुख कारण रहेको अख्तियार दुरुपयोग अनुसन्धानले पत्ता लगाएको छ। हुलाकी राजमार्गमै पर्ने सिरहा र सप्तरी जोड्ने बलान खोला पुलको डीपीआर नक्कल गरी निर्माण गरिएका कारण कमला पुल भासिएको अख्तियारको ठहर छ।
कमला पुल निर्माणको माटो परीक्षणअनुसार ३० मिटर पाइलिङ गर्नुपर्ने थियो। तर बलान पुलकै डिजाइनमा १४.५ मिटर मात्रै पाइलिङ स्वीकृत भयो। त्यसमा पनि कम गरेर ठेकेदारले ८ मिटर मात्र पिलरहरू गाडेको अनुसन्धान र परीक्षणबाट देखिएको अख्तियारको निष्कर्ष छ।
अर्कै पुलको लागि गरेको डीपीआर नक्कल गरी बनाएकोले कामै नलाग्ने गरी पुल भासिएको उजुरी तीन वर्षअघि अख्तियारमा परेको थियो। भू–प्राविधिक प्रतिवेदनले पुल क्षेत्रमा १० मिटर कटान गहिराइ रहने देखाएकाले पाइल फाउन्डेसन कम्तीमा २० मिटर हुनुपर्छ भनेर स्पष्ट सिफारिस गरिसकेको थियो। तर, प्रारम्भिक डिजाइन गलत भएको मात्र होइन, त्यसपछि निर्माणमा पनि गम्भिर लापर्वाही भएको पाईएको छ।
अख्तियारले पप्पु–लुम्बिनी जेभीले पुनस्र्थापनाका लागि पेस गरेको संशोधित डिजाइन, नक्सा र प्रतिवेदनको समेत अध्ययन गरेको थियो। उक्त अध्ययनमा सुरुमा पेस गरिएको भू–स्तर विवरण र पछि पेस गरिएको विवरण मेल नखाएको, फरक–फरक माटोका तह देखाइएको, जसका कारण जगको डिजाइन नै फरक पर्ने अवस्था बनेको पाइएको छ।
संशोधित डिजाइन अनुसार फाउन्डेसनमा भएका पाइलहरूको लम्बाइ पहिलेको भन्दा १५.५ मिटरले बढी देखिएको छ। अख्तियारले पुल निर्माणको विस्तृत अनुसन्धान गरी मिसिल तयार पारेपनि हालसम्म अभियोजन भने गरेको छैन। अख्तियारका एक अधिकारी भन्छन्, ‘विस्तृत अनुसन्धान गर्दासम्म पुल निर्माणमा चरम लापरबाही देखिएको तथ्य र निष्कर्ष छ। यो ठूलो अपराध हो। तर किन मुद्दा पेन्डिङ परेको हो भन्न सकिँदैन।’

