दुर्गा प्रसाईँलाई पक्राउ गर्न भर्याङ लिएर गएको थियो प्रहरी, ढोका नखोल्दा डेढ घण्टा प्रतिक्षा
काठमाडौँ– शान्तिसुरक्षा भड्काउने अभिब्यक्ति दिएको आरोप लगाउँदै प्रहरीले सोमबार मध्यराती दुर्गा प्रसाईँलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गर्यो। प्रसाईंलाई पक्राउ गर्न गएको प्रहरी टोली राति १० बजेतिर भक्तपुरस्थित उनको निवास पुगेको थियो। तर उनी ढोका खोल्न तयार भएनन्। प्रहरीको अनुमान पहिलेबाटै थियो—‘प्रसाईं ढोका नखोल्न सक्छन्।’ त्यसैले टोली सोही हिसाबले तयारीसहित निस्किएको थियो, भर्याङसहित।
यसको पछाडि २०८१ असोज ६ गतेको प्रसाईंको पहिलो गिरफ्तारीको अनुभव जोडिएको छ। त्यस दिन पनि प्रहरी घर पुगेको थाहा पाएपछि प्रसाईंले गेट खोल्न मानेका थिएनन्। अन्ततः साइबर ब्युरोको टोलीले घरको बाहिरबाट भ¥याङ लगाएर छत हुँदै प्रवेश गरी उनलाई नियन्त्रणमा लिनुपरेको थियो। यही पूर्वअनुभवले प्रहरीले यसपालि पनि भर्याङसहित योजना बनाएर पुगेको हो।
यसपालि पनि दृश्य उस्तै भयो। प्रसाईंले प्रहरी आएको थाहा पाएपछि लामो समयसम्म ढोका खोल्न मानेनन्। प्रहरी टोली बाहिर करिब डेढ घन्टा प्रतीक्षा गरिरहेको थियो। अन्ततः ढोका नखुल्दा प्रहरीले भर्याङ राखेर घर चढ्न थाल्यो। यहीबीच भित्रबाट ढोका खुल्यो र प्रहरी टोली उनलाई नियन्त्रणमा लिन सफल भयो। यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।
प्रहरी अधिकारीका अनुसार प्रसाईंले पक्राउ गर्न पुगेका प्रहरीलाई राजनीतिक गफ र गालीगलौज गर्दै ध्यान मोड्ने प्रयास गरेका थिए। तर टोली आफ्नो काममा अडिग रह्यो। प्रसाईंमाथि सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएको आरोपमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्ला दिनमा उनले ‘देश गृहयुद्धतिर जाँदैछ, रासनपानी संकलन गरेर राख’ जस्ता अभिव्यक्ति दिंदै आएका थिए, जसले जनमानसमा डर र भ्रम फैलाएको सुरक्षा निकायको मूल्यांकन छ। साथै, उनले प्रधानमन्त्री सुशीला कार्की र सुरक्षाकर्मीलाई लक्षित गर्दै व्यक्तिगत तथा भड्काउ अभिव्यक्ति दिएको भन्दै कारबाहीको आधार बनेको हो।
सुरक्षा निकायले उनको गिरफ्तारी रातकै समयमा गर्ने निर्णय गरेको थियो, किनकि दिउँसो पक्राउ गर्ने हो भने उनका समर्थकले हिंसात्मक प्रदर्शन गर्न सक्ने आँकलन गरिएको थियो। यसअघि पनि प्रसाईं पक्राउ परेपछि समर्थकहरूले मसाल जुलुस निकालेका थिए।
यसैबीच जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सरकारी वकिलको कार्यालयका अनुसार प्रसाईंका पछिल्ला अभिव्यक्तिहरू सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावमा प्रत्यक्ष प्रभाव पार्ने खालका छन्।
दुर्गा प्रसाईं योसँगै चौथो पटक पक्राउ परेका छन्। यसअघि साइबर मुद्दासहित आपत्तिजनक अभिव्यक्ति, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबारे दाबी, र तीनकुनेमा भएको मृत्यु–घटनासँग जोडिएका अभियोगमा उनी पक्राउ परिसकेका थिए।
यो पटक पनि उनी उग्र अभिव्यक्ति, अफवाह फैलाउने गतिविधि र राज्यविरुद्ध भड्काउने प्रयास गरेको आरोपमा अनुसन्धानको घेरामा छन्।

