‘भतिजासँग अनैतिक सम्वन्ध’को आरोपपछि पति विदेशमा भएकी २५ वर्षीया युवतिको विभत्स हत्या
रौतहट — रौतहटको वृन्दावन नगरपालिका–९, मुसाहामा २५ वर्षीया महिलाको विभत्स हत्या भएको छ। भुसाहा निवासी शेख आदिलकी श्रीमती २५ वर्षीया तरीमा खातुनको सोमबार राति निर्ममतापूर्वक हत्या गरिएको हो।
हत्यापछि तरीमा शव घरकै भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले मंगलबार फेला पारेको छ। घट्नामा परिवारकै संलग्नता रहेको आशंका प्रहरीले गरेको छ। स्थानीयले दिएको सूचनापछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो।
घरको भित्री भागमा माटोले ढाकेर लुकाइएको खातुनको शव भेटिएपछि प्रहरीले घटनालाई योजनाबद्ध र सांघातिक हत्या भएको ठहर गरेको छ। जानकारी अनुसार मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन्।
उनीहरूले खातुनका डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर बेपत्ता भएको पुष्टि भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ। वडा अध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७, पल्टुवामा पर्दछ। कात्तिक १८ गते माइतीमा भएको विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग खातुनको ‘अनैतिक सम्बन्ध’ रहेको आरोप लागेको र सोही कारण तनाव बढेको उनले बताए।
घटनापछि दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो। प्रहरीको मध्यस्थतामा दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा दुवैलाई छाडिएको मृतकका बुबा ताज मोहम्मदले बताएका छन्। ताज मोहम्मदका अनुसार खातुनको हत्या भएको रात उनका छोरा शेख आस मोहम्मद दिदीको घरमै बसेका थिए।
आसका अनुसार उनी घटनास्थलमा पुगेपछि परिवारका मान्छेले ‘तलाई पनि मारिदिन्छौँ’ भन्दै धम्की दिएका थिए। आफुले प्रमाणका रुपमा दिदीको शवको फोटो खिचेर डरले भागेको उनको भनाई छ।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट छ भने टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिन्छ। घटनास्थलबाट प्रहरीले एक थान चक्कु समेत बरामद गरेको छ। खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारका सदस्यको खोजी भईरहेको प्रहरीले घरेलु हिंसा, परिवारभित्रको विवाद, प्लानिङ र प्रतिशोधलगायत सबै सम्भावित कोणबाट अनुसन्धान गरिरहेको एसपी रविन कार्कीले जानकारी दिए।

