सौता बनेर भित्रिन लागेको चर्चासँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवादको भुमरीमा
काठमाडौं— नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवादमा परेकी छिन्। आफ्नै जन्मदिन (मंसिर १ गते) को अवसरमा सार्वजनिक गरिएको इन्गेजमेन्ट फोटोका कारण उनी विवादमा परेकी हुन।
‘एस + बी’ लेखेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फोटोले केही दिनमै साम्राज्ञीका प्रेमी भनिएका विशाल खरेलको वास्तविकता सतहमा ल्यायो। र, त्यही विन्दुबाट सुरु भयो विवादको अध्याय।
खरेल अविवाहित नभएको, बरु १५ वर्षअघिनै सरिता सुब्बासँग विवाह गरेको र उनीहरूका दुई वर्षीय छोरा समेत रहेको तथ्य खुलेपछि साम्राज्ञीको नयाँ प्रेम जीवन ‘सौता’को आरोपमा पिल्सिने स्थितिमा पुगेको छ।
अमेरिकामा व्यवसाय गर्दै आएका भनिएका खरेलले साम्राज्ञीसँग विवाह गर्नकै लागि सरितामाथि डिभोर्सको अत्यधिक दबाब दिएको आरोप सरिताको परिवारले सार्वजनिक गरेको छ। सरिता सुब्बाले टिकटकमार्फत प्रतिक्रिया दिँदै भनेकी छिन्— ‘हाम्रो सम्बन्ध विषाक्त थियो भनेर दुनियाँ अगाडि देखाउन खोज्नु १५ वर्षको वैवाहिक बन्धन र दुई वर्षीय छोराप्रति अपमान हो।’
गत वर्ष म्युजिक भिडियो छायाँकनका लागि थाइल्याण्ड पुगेका बेला साम्राज्ञी र खरेल नजिकिएको बताइन्छ। त्यसपछि प्रेम सम्बन्ध तीव्र बन्दै गएपछि खरेलले सरितासँगको वैवाहिक सम्बन्ध तोड्न आरोप, विवाद र दबाबको एकपछि अर्को चरण अघि बढाएको निकटस्थ स्रोत बताउँछ।
यता सामाजिक सञ्जालमा साम्राज्ञीलाई धेरैले ‘अरुको घर टुक्र्याउन लागेको’ भन्दै कटाक्ष गरिरहेका छन्। महिला अधिकारकर्मीहरुले समेत साम्राज्ञीले एक महिलाको वैवाहिक जीवन भत्काउन भूमिका खेलेको आरोप लगाएका छन्। अभिनेत्री शाह भने हाल मौन छिन्। यो प्रकरणले नेपाली मनोरञ्जन जगतमा ठूलो बहस सिर्जना गरेको छ।

