रानीपोखरीबाट लुटिएको पेस्तोल झापा हुँदै इलाम पुगेको खुलासाः कांग्रेस नेता लिङ्देनका छोरा सहित ३ जना पक्राउ

विराटनगर — जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको पेस्तोल झापा र इलामसम्म पुगेको खुलासा भएको छ। लागुऔषध कारोबारीको खोजतलासीमा खटिएको झापा प्रहरीले लुटिएको २ थान चाइनिज टाइप–५४ पेस्तोल, २० राउन्ड गोलीसहित आइतबार तीन जनालाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो।

प्रारम्भिक सुराक अनुसार, रानीपोखरीबाट हतियार लुट्नेहरूमध्ये दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी पहिलो अभियुक्तका रूपमा पक्राउ परेका थिए। जेन–जी आन्दोलनको भीडमा काठमाडौं पुगेका पुरीको कोठामा प्रहरीले १५ राउन्ड गोलीसहित एक थान टाइप–५४ पेस्तोल बरामद ग¥यो। सोधपुछका क्रममा उनले दोस्रो पेस्तोल दमक–६, प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताएका थिए। विश्व, नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिँदै केपी शर्मा ओलीलाई हराएका उनका बुबा पछिल्ला वर्षमा कांग्रेसतर्फ लागेका छन्। प्रहरीले पुरीको बयानका आधारमा विश्व लिङ्देनलाई घरमै पक्राउ ग¥यो। प्रारम्भिक सोधपुछमा उनले आफूसँग रहेको पेस्तोल इलामका साथीलाई २० हजार रुपैयाँमा बेचेको स्वीकारे।

विश्वको बयानका आधारमा झापा प्रहरीले इलामको चुलाचुली गाउँपालिका–४, आइतबारे पुगेर तेस्रो अभियुक्त ३० वर्षीय पवन हाङसुङ्वालाई नियन्त्रणमा लियो। पवनले पेस्तोल खरिद गरेको स्वीकार्दै आफूले हतियार बारीमा लुकाएर राखेको बताए। खोजतलासका क्रममा प्रहरीले उनको बारीबाट रातो प्लास्टिकमा बेरेर गाडिएको, ५ राउन्ड गोलीसहित लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल उत्खनन् गरी बरामद ग¥यो। धेरै दिन माटोमा गाडिएको हुँदा पेस्तोलमा खिया लागेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी स्रोतका अनुसार तीनै जना लागुऔषध प्रयोगकर्ता जस्ता देखिएका छन्। ‘विश्वले सुरुमा २० हजारमा बेचेको भन्यो, पछि फेरि ‘राख्न दिएको’ भन्दै बयान बदल्दै थियो,’ स्रोतले भन्यो, ‘लागुऔषध कारोबारीको खोजतलासीकै क्रममा लुटिएको हतियार भेटिएको हो। अब विस्तृत अनुसन्धान रानीपोखरीले अगाडि बढाउँछ।’ बरामद दुवै पेस्तोल, २० राउन्ड गोली र तीनै अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए।

प्रहरीका अनुसार, जेन–जी आन्दोलनको भीडभाड र अराजक परिस्थितिमा लुटिएको सरकारी हतियार केही दिनमै झापासम्म ओसारिएको मात्र नभई इलाममा बिक्री–वितरण गरिएको भेटिनुले यो प्रकरण धेरै ठूलो नेटवर्कसँग जोडिएको आशंका बढाएको छ। रानीपोखरी प्रहरीले अब हतियार लुटपाट, कारोबार, जमिनमा गाडेर सुरक्षित राख्ने क्रियाकलाप र अभियुक्तहरूको सम्भावित आपराधिक पृष्ठभूमिबारे थप छानबिन गर्ने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट