ऋण लिएको ५ सय फिर्ता नगरेपछि जुत्ताको तुनाले घाँटी कसेर परस्त्रीको हत्या, अपराधको केन्द्रमा लागु औषध
काठमाडौं— काठमाडौँको टोखा नगरपालिका–९ मा शनिबार बिहान करिव ८ बजेतिर तन्नाले बेरेर फालिएको अवस्थामा प्रहरीले एक महिलाको शव फेला पार्यो। आशंकाकै आधारमा घट्नाको अनुशन्धान सुरु गरेको प्रहरीले मात्र ५ सय रुपैयाँका लागि ति महिलाको हत्या गरिएको खुलासा गरेको छ।
प्रारम्भिक रूपमा ‘तेस्रोलिंगी महिला’ को हत्या भएको भनिएको थियो। तर, पछि मृतक माया मगर (आयुषा) भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाको क्लु प्रहरीले शव वेरिएको तन्नाबाटै फेला पारेको थियो। ‘रोयल कुन्डला’ नामको होटलको ट्याग लागेको तन्ना र सिरानी (तकिया) को खोल भेटिएपछि प्रहरीले अनुशन्धान त्यतै केन्द्रित गरेको थियो।
होटलका साहु र म्यानेजरले कुनै जानकारी नभएको दाबी गरे पनि सोही होटलमा काम गर्ने २४ वर्षीय सूर्य थापा मगरमाथि प्रहरीले शङ्का गर्यो र नियन्त्रणमा लिने निर्णयमा पुग्यो। प्रहरी टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रारम्भिक सोधपुछमै थापाले ‘हत्या मैले नै गरेको हुँ’ भनेर मुख खोलेपछि अनुसन्धान एकाएक अघि बढ्यो।
जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार थापाले सानो रकमकै विवादमा क्रूरतापूर्वक ज्यान मारेको स्वीकारेका छन्। पाँच सय रुपैयाँ फिर्ता नगरेपछि आयुषाको हत्या गरेको उनको भनाई छ।
प्रहरीका अनुसार करिब १५ दिनअघि राति १२ बजेतिर आयुषा र ‘डोल्मा’ नाम गरेकी एक महिला त्यही होटलमा आएका थिए। त्यतिबेलै आयुषाले थापासँग पाँच सय रुपैयाँ ‘ब्राउन सुगर किन्न’ भनेर सापटी लगेको खुलेको छ। त्यसपछि बारम्बार माग्दा पनि फिर्ता नदिएको र त्यही विवादले हत्यासम्मको रूप लिएको प्रहरीको निष्कर्ष छ।
२६ कात्तिकको राति विवाद चर्किएपछि थापाले ‘जुत्ताको तुना’ प्रयोग गरी आयुषाको घाँटी कसेर हत्या गरे। हत्या पश्चात् उनको शव कालो प्लास्टिकमा बेरेर तन्नाले छोपी बाहिर फालिएको सीसीटीभी फुटेजले पुष्टि गरेको एक अनुसन्धान अधिकृतले बताए। फुटेजमा राति १ः५२ बजे तन्नाको पोको बोकेर निस्किएको व्यक्ति थापा नै भएको पाइएको छ।
आयुषा विवाहित रहेको खुलेको छ। उनकी आमा कल्पना शेर्पालीले शवको सनाखत गरेकी छिन्।

