प्रहरीले ३ वर्षअघि पठाएको पत्रका आधारमा सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलको सम्पत्ति रोक्का
राजविराज— हत्या मुद्दामा फरार अभियुक्त बनेका राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलको सम्पत्ति प्रहरीले रोक्का गरेको छ। शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीलाई पत्राचार गरेर प्रहरीले मण्डलसहित उनका बुबा गंगाराम मण्डलको सम्पत्ति रोक्का गरेको हो।
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख किशोर रामका अनुसार प्रहरीको निर्देशनपछि अध्यक्ष मण्डल र उनका बुबाको नाममा दर्ता गरिएको जग्गा रोक्का गरिएको छ। ‘अनुसन्धानमा नाम आयका अन्य पाँच जनाको सम्पत्ति विवरण पनि खोजिँदै छ, ती सबैको समेत रोक्का प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।
सप्तरी प्रहरीले सात जनाको सम्पत्ति रोक्का गर्न २०७९ सालमै मालपोत कार्यालयलाई पत्राचार गरेको थियो। तर तत्कालीन कार्यालयले त्यसबेला कुनै प्रक्रिया अगाडि न बढाएको खुलेको छ। २५ जेठ २०७९ मा जिल्ला प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर भानु खड्काले सम्पत्ति रोक्का गर्न आधिकारिक पत्र पठाएका थिए।
अध्यक्ष मण्डल २०५५ सालमा सप्तरीको रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या प्रकरणमा अदालतले फरार अभियुक्तका रूपमा राखेको सात जनामध्येका एक हुन्। उनी, उनका बुबा सहित रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार २०७५ मा दर्ता भएको मुद्दा जिल्ला अदालतले हाल मुल्तबीमा राखेको छ।
पक्राउ पुर्जी जारी भइसके पनि लामो समयसम्म प्रहरीले गिरफ्तारीप्रति गम्भीर चासो नदेखाएको आरोप स्थानीयवासीले लगाउँदै आएका छन्। उच्च सार्वजनिक पदमा बसेको व्यक्ति फरार अभियुक्तको सूचीमै रहँदा वर्षौंदेखि कानूनी प्रक्रिया स्थगित हुनु र सम्पत्ति रोक्का कार्य ढिलो हुनुले समेत राज्य संयन्त्रप्रतिको सवाल थपिएको छ।
मण्डल एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

