लेटाङकी १३ वर्षीया अंशु गौतमको विभत्स हत्याः दुई महिनापछि छिमेकी पुरुष पक्राउ
विराटनगर– मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको निर्मम हत्या भएको दुई महिनापछि प्रहरीले छिमेकी पुरुषलाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार अन्दाजी ५० वर्षीय छिमेकी पुरुष पक्राउ परेका छन्।
प्रहरीले औपचारिक रूपमा पक्राउबारे सार्वजनिक घोषणा नगरे पनि मोरङ प्रहरीका एसपी कबित कटवालले ‘अनुसन्धान अन्तिम चरणमा पुगेको’ जानकारी दिएका छन्। उनले ‘केही महत्वपूर्ण पक्षहरू खुल्न बाँकी छन’ भन्दै विस्तृत तथ्य खुलाउन अस्वीकार गरे।
उनले अंशु हराएकै दिन हत्या गरेको बयान दिएको स्रोतको दावी छ। प्रारम्भिक अनुसन्धानले हत्या निकै नजिकको पारिवारिक रिसिइबी वा पुरानै झगडाबाट प्रेरित भएको देखाएको स्रोतले जनाएको छ।
अंशु गत असोज २१ गते घरबाट अचानक हराएकी थिइन्। साँझ घर नजिकै पिङ खेल्न गएकी अंशुलाई साढे ५ बजेसम्म छिमेकीहरूले देखेका थिए। कात्तिक ७ गते (बेपत्ता भएको १८ दिनपछि) बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो।
शवको अवस्था भयङ्कर थियो — शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा परिवारले शवको पहिचान गरे, र डीएनए परीक्षणले पनि शव अंशुकै भएको पुष्टि ग¥यो। प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ।
स्थानीय लक्ष्मी माद्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको हत्या सुरुवातदेखि नै योजनाबद्ध तथा व्यक्तिगत रिसिइबीका कारण भएको आशंका गरिएको थियो। उनको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मको संयुक्त टोली अनुसन्धानमा खटिएको थियो।
गाउँभरी फैलिएको त्रास, परिवारको शोक र स्थानीय आक्रोशबीच प्रहरीले सबै सम्भावित पक्षलाई खोतल्दै लगेको थियो। त्यही क्रममा छिमेकी पुरुष पक्राउ परेको जनाईएको छ।

