‘उदयपुरका काठ व्यवसायी हौं’ भन्दै बास बसे, राति दम्पतीलाई बाँधेर नगद र गरगहना लुटपाट

खोटाङ– खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाँडा सेखुवास्थित झगरपुर टोलमा बास मागेर घर पसेका व्यक्तिहरूले राति दम्पतीलाई बाँधेर लुटपाट गरेका छन्। स्थानीय ६६ वर्षीय ज्ञानबहादुर बुडाथोकीको घरमा आइतबार साँझ भएको लुटपाटबारे जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दर्ता भएको हो।

पीडित परिवारका अनुसार आइतबार साँझ करिब ७ बजे करिव ३०–३५ वर्षका दुई पुरुष बास माग्दै बुडाथोकीको घर पुगेका थिए। यात्रुजस्तो देखिएका ती व्यक्तिहरूलाई घरमै बास दिइएको थियो। तर राति करिब ९ बजे उनीहरूले ज्ञानबहादुरकी श्रीमती चन्द्रकुमारी बुडाथोकीसहित दम्पतीको हातखुट्टा तार र सल प्रयोग गरी बाँधेर उनीहरूले घरभित्र लुटपाट गरेको आरोप छ।

दम्पतीलाई नियन्त्रणमा लिएपछि लुटेराहरूले घरमा राखिएको नगद र गहना लुटेर फरार भएको पीडित पक्षले जनाएको छ। पीडितका ज्वाइँ लिलाबहादुर खत्रीका अनुसार लुटेराहरूले एक तोला सुनको कुन्डल, एक लाख ५० हजार ६ सय रुपैयाँ नगद र एउटा मोबाइल फोन लुटेर लगेका छन्। लुटेराहरू गएपछि राति करिब १२ बजे बाँधिएको सल र तार खोल्दै खोजतलास गर्दा लुटिएको भनिएका तीन मोबाइलमध्ये दुई वटा साधारण मोबाइल घरमै फेला परेको खत्रीले बताए।

अनुसन्धानमा लुटपाटमा संलग्नमध्ये एक जना यसअघि पनि उक्त घरमा बास बसेको खुलेको छ। खत्रीका अनुसार पुस २ गते तीन जना व्यक्तिहरू सोही घरमा बसेका थिए, जसमध्ये एक जना अहिलेको घटनामा संलग्न रहेको आशंका गरिएको छ। सोही आधारमा पुस ७ गते प्रहरीमा औपचारिक उजुरी दिइएको हो।

पीडित पक्षका अनुसार ती व्यक्तिहरूले आफूहरू उदयपुर घर भएका र काठ व्यवसाय गर्ने गरेको बताएका थिए। यही परिचयका आधारमा उनीहरूलाई विश्वास गरेर घरमा बस्न दिएको तर सोही विश्वासलाई दुरुपयोग गर्दै लुटपाट गरेको परिवारको गुनासो छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान अघि बढाएको छ। प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ र संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको छ।

स्थानीयवासीहरू भने ग्रामीण बस्तीमा बास माग्ने नाममा बढ्दै गएको अपराधप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई चाँडो पक्राउ गरी कडा कारबाही गर्न माग गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट