‘मलाई मार्छन्’ भन्दै माइतमा गुहार मागेकी सुशीलालाई कोरियामा रहेका पतिसहित मिलेर जिउँदै जलाईएको खुलासा

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको हत्या २ वर्षदेखि कोरियामा रहेका पतिसहित परिवारकै मिलेमतोमा भएको खुलासा भएको छ। हत्या योजनाबद्ध रुपमा भएको तथ्य क्रमशः खुल्दै गएको छ।

आइतबार दिउँसो करिब ४ बजे घरको भान्सामा आगलागीमा परेर सुशीलाको घटनास्थलमै ज्यान गएको थियो। सुरुमा दुर्घटना भनिएको घटनाले अनुसन्धान अघि बढ्दै जाँदा जघन्य पारिवारिक अपराधको रूप लिएको छ।

घटनाभन्दा केही घण्टा अघि नै सुशीलाले आफू गम्भीर खतरामा रहेको संकेत माइती पक्ष (सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिका–४) लाई दिएकी थिइन्। सोही दिन बिहान करिब ९ बजे उनले आमा बुद्धिमाया घिसिङलाई रुँदै फोन गरेकी थिइन्। ‘आमा, मलाई लिन आउनु। आज तँलाई मार्ने नै हो भनिरहेका छन्, मलाई धेरै डर लागिरहेको छ,’ सुशीलाले भनेको माइती पक्षले उद्धृत गरेको छ।

आमाले उनलाई सम्झाउँदै एक दिन धैर्य गर्न र भोलिपल्ट बुवालाई लिन पठाउने आश्वासन दिएकी थिइन्। घरायसी पीडाले थलिएकी सुशीलाले आफ्नी बहिनी सन्दी घिसिङ र दाजु–भाउजूलाई पनि आफूलाई ज्यान मार्ने धम्की आएको कुरा फोनमै सुनाएकी थिइन्। माइती पक्ष भोलिपल्ट बिहानै लिन जाने तयारीमा थियो।

सुशीलाका छोराछोरी विद्यालय गएकाले तत्कालै लैजान मिल्ने अवस्था पनि थिएन। यही बीचमा दिउँसो भयावह घटना घट्यो। विद्यालय गएका दुई छोरा र एक छोरीलाई घर ल्याएर खाजा खुवाएपछि सुशीला उनीहरूलाई ट्युसन पुर्‍याएर घर फर्किएकी थिइन्। त्यसपछि उनी भान्सामा पसिन्।

प्रहरी अनुसन्धानअनुसार त्यही बेला घरमै रहेकी नन्द मीना बोम्जनले भाउजू भित्रिनासाथ उनको शरीरमा पेट्रोल खन्याइन्। त्यसलगत्तै लाइटर बालेर आगो लगाइन् र आफू बाहिर निस्केर भान्साको ढोका बाहिरबाट चुकुल लगाइदिइन्।

सासु मायारानी बोम्जनले घरको माथिल्लो तलाको च्यानल गेटमा ताल्चा लगाइन्। साढे दुईतल्ले घरमा बस्दै आएको उक्त परिवारले तल्लो तला भाडामा दिएको थियो। सुशीलाको चिच्याहट सुनेर छिमेकीहरू पुग्दा मेन गेटमा ताला लागेको थियो।

छिमेकीहरू पुगेपछि ससुरा दुर्गामान बोम्जनले भान्साको ढोका खोले। ढोका खोल्ने क्रममा आगोको लप्काले उनको हातमा चोट लागेको बताइएको छ। केही समयपछि मेन गेट खोलिएको भए पनि सुशीलाको त्यतिबेलासम्म ज्यान गईसकेको थियो।

घटनापछि पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानमै आत्मदाहको सम्भावना अस्वीकार गर्‍यो। भान्साको कुनामा पेट्रोलको गन्ध आउने रित्तो बोतल, डस्बिनमा लाइटर फेला परेपछि हत्या आशंकामा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानकै क्रममा नन्द मीना बोम्जनले बिहानैदेखि भाउजू मार्ने योजना बनाएको खुलेको छ। उनले घर नजिकैको पसलबाट ५ लिटर पेट्रोल किनेर ल्याएको र सोही पेट्रोल प्रयोग गरी आगो लगाएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीका अनुसार, मीनाले दिएको बयानमा परिवारका अन्य सदस्यको समेत साथ रहेको संकेत गरेको छ। ‘घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले भने।

सुशीलाको विवाह आफ्नै मामाको छोरा सूर्य बोम्जनसँग भएको थियो। श्रीमान् विगत दुई वर्षदेखि कोरियामा वैदेशिक रोजगारीमा छन्। प्रहरीका अनुसार, बयानमा मीनाले श्रीमानको समेत घटनाबारे जानकारी र समर्थन रहेको दाबी गरेकी छन्। माइती पक्षले सुशीलाले लामो समयदेखि शारीरिक तथा मानसिक हिंसा सहँदै आएको बताउँदै आएका छन्।

यही आधारमा मृतकका बुवा प्रेमबहादुर घिसिङले सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले सोही साँझ सासु र नन्दलाई नियन्त्रणमा लिएको हो। घाइते ससुरा दुर्गामान भने प्रहरीको निगरानीमा उपचाररत छन्।

पक्राउ परेका मायारानी र मीनालाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सुशीलाका दुई छोरा र एक छोरी (तिम्ल्याहा) लाई मामाघरमा राखिएको छ।

माइतीलाई बिहानै ‘मलाई मार्छन्’ भनेर गुहार मागेकी सुशीलाको दिउँसो आफ्नै घरभित्र जिउँदै जलाएर हत्या भएको यो घट्नाले गाउँमा त्रासको अवस्था सृजना भएको छ।

यो पनि,

पति विदेशमा भएकी वुहारीलाई पेट्रोल छर्केर आगो लगाई हत्या गर्ने सासु र नन्द पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट