सर्लाहीको सागरनाथ वनका चौकीदारको टाउको काटेर हत्या, टाउको अझै बेपत्ता
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन चौकीदारको अत्यन्तै क्रूर र रहस्यमय हत्या भएको छ।
परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्दै आएका स्थानीय ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो, तर काटिएको टाउको भने अझैसम्म भेटिएको छैन।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार महतोको टाउको खोज्न व्यापक प्रयास भइरहेको छ। घटनास्थल र आसपासका जङ्गली क्षेत्र केन्द्रित गरेर खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको उनले बताए।
स्थानीयका अनुसार महतोको टाउकोबिनाको शव घरबाट करिब पाँच सय मिटर टाढा जङ्गलभित्र फेला परेको हो। शनिबार बिहान जङ्गलतर्फबाट रुख काटेको आवाज सुनेपछि त्यतैतर्फ गएका महतो दिउँसोसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए।
खोजीका क्रममा जङ्गलभित्र विभत्स अवस्थामा शव फेला परेपछि घटनाले गाउँ नै स्तब्ध बनेको छ। प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ भने तालिमप्राप्त कुकुरको सहयोगमा हत्याको मार्ग, प्रयोग भएको सम्भावित हतियार र संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।
तर यति निर्मम हत्या हुँदासमेत टाउको अझै फेला नपर्नुले अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक वन क्षेत्रमा काम गर्ने श्रमिकको यसरी नृशंस हत्या हुनु केवल आपराधिक घटना मात्र नभई सुरक्षा व्यवस्थामाथिको ठाडो चुनौतीका रूपमा हेरिएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने वन क्षेत्रमा काम गर्ने अन्य मजदुर र चौकीदारहरू पनि गहिरो असुरक्षाबोधमा छन्। स्थानीयले दोषीलाई छिटो सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन्।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

