गौरादहमा ट्याक्टर पल्टिँदा एकको मृत्यु, चार जना घाईते, चालक फरार
विराटनगर — झापाको गौरादह नगरपालिका–५ स्थित चान्दुखोलाको भित्री सडक खण्डमा शुक्रबार राति ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनापछि चालक फरार छन्।
प्रहरीका अनुसार बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर करिब साढे १० बजे अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा ट्याक्टरमा सवार गौरादह नगरपालिका–७ निवासी ३५ वर्षीय महमत माजिम गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको शव दमक अस्पतालमै राखिएको छ।
उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा गौरादह–७ कै ४९ वर्षीय सत्य नारायण राजवंशी, २३ वर्षीय संजित ऋषीदेव, २३ वर्षीय अभिजुल मिया र ३४ वर्षीय केलु मिया रहेका छन्। सत्य नारायण राजवंशीको बायाँ खुट्टामा सामान्य चोट लागेको छ भने संजित ऋषीदेवको शरीरका विभिन्न भागमा चोट लागेको छ।
अभिजुल मियाको देब्रे खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। केलु मियाको छातीमा चोट लागेको भए पनि उनी बोल्न सक्ने अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइतेको दमक अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालक गौरादह नगरपालिका–७ बस्ने ३८ वर्षीय यमप्रसाद राजवंशी घटनास्थलबाट फरार भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले फरार चालकको खोजी तीव्र बनाएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

