बाफलमा सुनको औठी लुट्न ८३ वर्षीय वृद्धको हत्याः इनारमा भेटियो शव, तीन जना भारतीय पक्राउ
काठमाडौँ– ललितपुरको बाफल क्षेत्रमा एक वृद्धको सुनको औंठी लुट्न योजनाबद्ध रूपमा हत्या गरी शव इनारभित्र फालिएको घटना सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका–१७ बाफलस्थित खाली जग्गामा रहेको इनारभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेपछि घटनाको चुरो वाहिर आएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृतक इलाम घर भई बाफलको प्रसिद्धिनगरमा बसोबास गर्दै आएका ८३ वर्षीय गर्जमान थापा हुन्। उनी पुस २६ गते बिहान करिब ११ बजे घरबाट बाहिर निस्किएका थिए। साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरी वृत्त सातदोबाटोमा सोही दिन साँझ करिब ७ बजे हराएको निवेदन दिएका थिए।
प्रहरीले आसपासका खाली जग्गा र संरचनाहरू जाँच गर्दा एक इनारभित्र बोरा देखिएको थियो। शंका लागेपछि इनार खोलेर हेर्दा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा थापाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा मृतकको घाँटीमा चोटको निशान देखिएको र हत्या अत्यन्तै निर्मम तरिकाले गरिएको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सद्दाम मन्सुरी, युसुफ हवारी र मोहम्मद लोमान रहेका छन्। प्रहरीका अनुसार उनीहरू फर्निचरको काम गर्ने व्यक्ति हुन् र गर्जमान थापा उक्त क्षेत्रमा बारम्बार आउजाउ गर्ने गरेको थाहा पाएपछि सुनको औंठी लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले लुटिएको सुनको औंठीसमेत बरामद गरिसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र हत्या योजनाबद्ध रूपमा गरिएको आशंकामा अनुसन्धानलाई गहिराइमा लगिएको प्रहरीले जनाएको छ। वृद्ध नागरिकसमेत सुरक्षित नरहने अवस्थाले राजधानी उपत्यकाको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।

