बन्चरेडाँडा पुग्न नसक्ने मेयरको सिंहदरबारको सपना ! ११ प्रश्न जसले बालेनको राजनीति नङ्ग्याउँछ
राजविराज– ‘के बालेन साह अहिले एक्लै बन्चरेडाँडा पुग्न सक्छन् ?’ यो प्रश्न आज बालेन्द्र साह (बालेन)को सम्पूर्ण राजनीतिक यात्राको प्रतीक हो। फोहोर मात्र होइन, ‘बालेन क्रान्ति’ भनेर प्रचार गरिएको राजनीतिक भाष्य, काठमाडौँको मेयर चुनावका बेला गरिएका ठूला–ठूला वाचा र अहिले देखिएको यथार्थबीचको दूरीमाथि प्रश्न उठिरहेको छ।
यही अधुरा वाचा, अस्पष्ट एजेन्डा र विवादित नेतृत्व शैलीको पृष्ठभूमिमा बालेन साह झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्न मैदानमा उत्रिएका छन्। यो सामान्य उम्मेदवारी होइन। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘किल्ला’ मानिने क्षेत्रमा काठमाडौं महानगरका मेयर बालेनको प्रवेश आफैंमा राजनीतिक विस्फोट हो।
तर यही विस्फोटभित्र गम्भीर आशंकाहरु लुकेका छन्। काठमाडौँमा मेयर बनेपछि बालेनले धेरै सपना बाँडे। फोहोरको दीर्घकालीन समाधान, वर्गीकरण, ऊर्जामा रूपान्तरण, सडक मर्मतका लागि ‘पूर्वाधार एम्बुलेन्स’, सार्वजनिक शौचालय, स्मार्ट ट्राफिक, डिजिटल सेवा र पूर्ण पारदर्शिताको वाचा गरे। तर व्यवहारमा काठमाडौं अझै बन्चरेडाँडामै अड्किएको छ।
फोहोर छुट्याउने, प्रशोधन केन्द्र बनाउने, मल वा बिजुली उत्पादन गर्ने योजना कागज र भाषणमै सीमित भए। सडक जर्जर छन्, सार्वजनिक शौचालय देखिँदैनन्, डिजिटल पारदर्शिता गफमै सिमित भए। सुकुम्बासी व्यवस्थापन डोजर र युट्युबमा सीमित भयो। यही कारण बालेन आज ‘आशा’ भन्दा बढी ‘प्रश्न’ को घेरामा छन्।
यस्ता छन् बालेन साहले उत्तर दिनुपर्ने ११ प्रश्न
१. नेतृत्व र जिम्मेवारी
– सिंहदरबारदेखि देशका विभिन्न स्थान जल्दा तपाईंको भूमिका के थियो?
– ‘देश जलाएको जिम्मा लिन्छौं’ भन्नुभएको थियो—त्यसको नैतिक र कानुनी जिम्मेवारी कहिले लिने ?
– जनजी आन्दोलनमा ज्यान गुमाएका र घर–व्यवसाय जलेका पीडितलाई क्षतिपूर्ति र न्याय दिने पहल किन देखिएन?
– नेता भएर संयम देखाउनु पर्ने बेला उत्तेजना किन बढाइयो ?
२. डिजिटल राजनीति र भीड
– फेसबुकलाई संवादको मुख्य थलो किन बनाइयो?
– उत्तेजक पोस्टले हिंसा र अराजकता बढाएको स्वीकार गर्नुहुन्छ?
– फेक अकाउन्ट, गालीगलौज र घृणात्मक भाषालाई मौन समर्थन किन?
– समर्थकलाई अनुशासनमा राख्ने प्रयास किन देखिएन?
– तपाईं नेता हो कि कन्टेन्ट क्रियटर?
३. आलोचना, असहमति र लोकतन्त्र
– आलोचकलाई दुश्मन ठान्ने प्रवृत्ति किन बढ्यो?
– आलोचना र घृणाबीचको सीमारेखा किन मेटियो?
– फरक मत सुन्ने धैर्य र लोकतान्त्रिक संस्कार किन कमजोर देखियो?
– पत्रकारसँग सम्बन्ध किन तिक्त बन्दै गयो?
४. महानगरको काम र उपलब्धि
– महानगर प्रमुखका रूपमा ठोस रूपमा के–के काम गर्नुभयो?
– कामभन्दा प्रचार किन अगाडि देखियो?
– चुनावअघि गरेका कति वाचा पूरा भए?
– पूरा नभएका वाचाको जिम्मेवारी कसले लिन्छ?
– दीर्घकालीन योजना र संस्थागत सुधार किन देखिएन?
५. प्रशासन, कानुन र प्रक्रिया
– प्रशासनसँगको टकरावले काम सजिलो भयो कि गाह्रो?
– कर्मचारीलाई डर देखाएर सुशासन सम्भव छ?
– किन कानुनभन्दा आवेग ठूलो बनाइयो?
– प्रक्रिया तोड्नु सुधार हो कि स्टन्ट?
६. सामाजिक न्याय र मानवीय पक्ष
– गरिबलाई लखेट्दा वैकल्पिक व्यवस्था किन भएन?
– कमजोरसँग कडा र बलियासँग नरम व्यवहार किन?
– विस्थापित, मजदुर, आप्रवासी र सीमान्तकृतका लागि के गरियो?
– सामाजिक न्याय र सहानुभूति किन चयनात्मक देखियो?
७. सेवा, विकास र नतिजा
– फोहोर व्यवस्थापन दिगो बन्यो?
– ट्राफिक र सार्वजनिक यातायातमा सुधार कहाँ छ?
– शिक्षा, स्वास्थ्य, महिला–बाल सुरक्षा र अपाङ्गका लागि महानगरको योगदान के?
– बजेट कार्यान्वयन र परिणाम नाप्ने सूचक के हो?
८. पारदर्शिता र जवाफदेहिता
– पारदर्शिताका कति निर्णय सार्वजनिक छन?
– ठेक्का र प्रक्रियामा सुधार किन देखिएन?
– अदालतका आदेश कति पालना भयो?
– आत्ममूल्यांकन र गल्ती स्वीकार्ने संस्कृति छ?
९. सहकार्य र संघीयता
– संघीय र प्रदेश सरकारसँग सहकार्य किन कमजोर रह्यो?
– स्थानीय तहको मर्यादा र संस्थागत सीमाको सम्मान भयो?
– व्यक्ति–केन्द्रित ब्रान्डिङले संस्थालाई कमजोर बनायो कि बनाएन?
१०. राजनीति, विरासत र भविष्य
– विधि कि स्टन्ट—के हो तपाईंको प्राथमिकता?
– लोकप्रियता बढ्दा समाधान किन घट्यो?
– मेयर हुँदा असफल हुनु भो, काठमाडौँमा गरेको बाचा पुरा नगरि जनतालाई धोका दिएर हिड्नु भो। दोस्रो कार्यकालको औचित्य के हो?
– सम्झिन लायक एउटै काम गर्नु भो ?
– इतिहासले तपाईंलाई कसरी सम्झिने ?
– आज पद नहुँदा तपाईंका विचार र काममध्ये के बाँकी रहन्छ?
११ अन्तिम प्रश्न
– तपाईंले देशलाई जोड्नुभयो कि फुटाउनुभयो?
– घृणात्मक राजनीति रोक्न सार्वजनिक माफी र स्पष्ट प्रतिबद्धता गर्न तयार हुनुहुन्छ?

