सिरहामा १९ वर्षपछि खुल्यो बालिका हत्याको रहस्यः प्रेम प्रस्ताव अस्वीकार गरेपछि घाँटी थिचेर हत्या
लहान– करिब दुई दशकअघि सिरहामा १६ वर्षीया बालिकाको हत्या गरी फरार भएका एक प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा घाँटी थिचेर हत्या गरी भारत भागेका आरोपी उतिम मुखियालाई उनको आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार २०६३ मंसिर १३ गते साविक बेलहा गाविस–७ निवासी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि गरिएको प्रारम्भिक अनुसन्धानले हत्या भएको आशंका गरे पनि आरोपी फरार रहेकाले मुद्दा लामो समयसम्म निष्कर्षमा पुग्न सकेको थिएन।
अनुसन्धानका क्रममा मृतक बालिकासँग बेलहा गाविस–१ (हाल कल्याणपुर नगरपालिका–१२) का रेबिया मलाहाका छोरा उतिम मुखियाले पहिल्यैदेखि प्रेम सम्बन्धको कुरा गर्दै आएको खुलेको प्रहरीको भनाइ छ।
घटना भएको दिन पनि उतिमले मृतक बालिकासँग प्रेम प्रस्ताव राखेका थिए। बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशित बनेका उनले सलले घाँटी कसेर बालिकाको हत्या गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हत्या गरेपछि उतिम भारततर्फ भागेका थिए। त्यसपछि उनी विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। पछिल्लो समय उनी आफ्नै घरमा लुकीछिपी बसेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पुस ३ गते उनलाई पक्राउ गरेको हो।
पक्राउपछि आरोपीत मुखियालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

