सुमनराज प्याकुरेलको निर्लज्ज आत्म–प्रचार राजनीतिः आफैं प्रशंसक, आफैं निर्णायक
राजविराज– आगामी फाुगुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ। मनोनयन दर्तापछि उम्मेदवारहरु जोडतोडले चुनावी प्रचारमा लागेका छन्। कोही रुदैछन्, कोही कराउँदैछन्, कोही सर्कसको जोकर जस्तो ढुङ्गा र गधा जे भेटेपनि ढोगौंला जस्तो गरी नाटक मञ्चन गर्दैछन्। उनिहरुको ब्यवहार हेर्दा लाग्छ– हामी कुनै नाटक वा फिल्महलमा वसेर फिल्म हेरिरहेका छौं।
यति मात्र होईन, कोही मन्दिर धाउँदैछन– देश धर्मनिरपेक्ष घोषणा भएपछि थिचोमिचोमा परेका र अन्य धर्मावलम्वीहरुको हेपाइमा परेका हिन्दुधर्म मान्ने मतदातालाई ‘म पनि तपाईहरुकै साथमा छु’ भन्ने देखाउँन र ‘मैले चुनाव जिते हिन्दुराज्य स्थापनामा लाग्छु’ भन्ने संकेत दिन। तर, ति नेता आवद्ध पार्टीले न त हिन्दु धर्मको वकालत गर्छ, न त हिन्दु राज्य बनाउँछौं नै भनेको छ।
अर्काथरी उम्मेदवार छन– फेसवुकमै आफुलाई बलबिर प्रमाणित गर्ने। जो आफैंले आफैंलाई ‘मूल स्तम्भ’, ‘जनप्रिय’ र ‘प्रभावशाली’ जस्ता शब्दले जयजयकार गरिरहेका छन्। तिनै मध्येका एक हुन– सप्तरी–१ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका एमाले नेता सुमनराज प्याकुरेल।
प्याकुरेलले २७ पुसमा फेसबुकमा लामो स्ट्याटस लेख्दै आफ्नै प्रचार आफैंले गरेका छन्। प्रचार मात्र होइन, आफैंलाई आफैंले नेता घोषणा गर्ने आत्म–प्रचारको दस्तावेज नै सार्वजनिक गरेका छन्। स्ट्याटस पढ्दा लाग्छ—यो कसैको मूल्याङ्कन, विश्लेषण वा तटस्थ टिप्पणी होइन, बरु इतिहास, जनमत र आलोचनालाई छलेर तयार पारिएको स्वघोषित महानताको कथा हो।
लेख्ने व्यक्ति स्वयं उम्मेदवार, प्रशंसक स्वयं उम्मेदवार, र निष्कर्ष दिने पनि स्वयं उम्मेदवार। लोकतान्त्रिक राजनीतिमा यति निर्लज्ज आत्म–प्रचार कमै देखिन्छ। उक्त स्ट्याटसमा प्याकुरेलले आफूलाई ‘विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्मको प्रेरणादायी यात्रा गरेका व्यक्तित्व’, ‘सप्तरीको राजनीतिक धरातलको मूल स्तम्भ’, ‘मधेश प्रदेशमै प्रभावशाली नेतृत्व’ जस्ता भारी शब्दले सजाएका छन्। तर प्रश्न उठ्छ—यी उपाधि कसले दियो ? जनताले ? इतिहासले ? कि फेसबुकको स्ट्याटसले ?
आलोचकहरु भन्छन—‘लोकतन्त्रमा नेताको मूल्याङ्कन आत्मकथाले होइन, जनताले भोगेको यथार्थले गर्छ। सप्तरीका किसान, मजदुर, युवा, दलित र सीमान्तकृत समुदायले भोगेको जीवनमा प्याकुरेलको ‘प्रेरणादायी यात्रा’ कहाँ देखिन्छ भन्ने प्रश्नको जवाफ स्ट्याटसमा कतै छैन।’
स्ट्याटसमा बारम्बार ‘जनताको पीडा बुझ्ने’, ‘व्यवहारमा समाधान खोज्ने’, ‘जनप्रिय नेता’ जस्ता शब्द प्रयोग गरिएका छन्। तर यथार्थमा सप्तरी–१ का नागरिकले बुझ्न चाहेको कुरा सरल छ—उनी सांसद वा प्रभावशाली नेता हुँदा कुन पीडामा के समाधान भयो ? बेरोजगारी, वैदेशिक पलायन, शिक्षा र स्वास्थ्यको दुर्दशा, सीमावर्ती क्षेत्रका जनताले जंगली जनावरबाट पाएको दुःख, नागरिकता र पहिचानका सवाललगायतका मुद्दामा प्याकुरेलको ठोस, मापनयोग्य र देखिने योगदान के हो ?
स्ट्याटसमा शब्द छन्, तर परिणाम छैनन्। भाषणको भाषा छ, तर जीवन बदलिएको तथ्य छैन। अझ गम्भीर कुरा त के हो भने, उक्त स्ट्याटसमा कुनै पनि असफलता, विवाद, आलोचना वा आत्मालोचनाको अंशसम्म पनि छैन। मानौँ, उनको राजनीतिक यात्रा त्रुटिरहित, विवादरहित र पूर्ण रूपमा सफल मात्रै छ। राजनीतिक विश्लेषकहरु भन्छन—‘वास्तविक राजनीति यस्तो हुँदैन। जसले संघर्ष गरेको दाबी गर्छ, उसँग असफलताको इतिहास पनि हुन्छ। जसले संगठन बनाएको दाबी गर्छ, उसले भत्किएको संगठनको जिम्मेवारी पनि लिनुपर्छ।’ तर प्याकुरेलको स्ट्याटसमा उनी केवल विजेता छन्, कहिल्यै हार्ने मान्छे होइनन्। यसले देखाउँछ—यो लेख मानिसको कथा होइन, पोस्टरमा छापिने आदर्श पात्रको स्क्रिप्ट हो।
आफूलाई ‘मूल स्तम्भ’ भन्नु लोकतान्त्रिक संस्कार होइन, सत्ताकेन्द्रित अहंकारको संकेत हो। मूल स्तम्भ जनता हुन्छन्, संविधान हुन्छ, र संस्थागत प्रक्रिया हुन्छ। कुनै उम्मेदवारले आफैंलाई मूल स्तम्भ घोषणा गर्नु भनेको जनतालाई दर्शक र आफूलाई अपरिहार्य ठान्नु हो। यस्तो सोच आज फेसबुक स्ट्याटसमा देखिए पनि भोलि संसद पुगेपछि आलोचना असह्य हुने, प्रश्न सोध्ने नागरिकलाई शत्रु ठान्ने मानसिकतामा परिणत हुन्छ।
अर्कोतर्फ, यो स्ट्याटसले आत्मविश्वास देखाएको होइन, बरु गहिरो राजनीतिक असुरक्षा प्रकट गरेको छ। वास्तवमै जनआधार बलियो, कामको प्रमाण स्पष्ट र जनविश्वास अडिग भएको नेता आफैंले आफैंलाई यति लामो प्रशंसापत्र लेख्दैन। सप्तरी–१ का मतदाता भन्छन—‘यस्तो लेख्नु पर्ने अवस्था आउनुको एउटै संकेत हो—भित्र कतै डर छ, धरातल कमजोर छ, र चुनावी मैदानमा आफ्नो हैसियतप्रति शंका छ। त्यसैले फेसबुकमार्फत ‘नेता निर्माण’ को प्रयास भइरहेको छ।’
सप्तरी–१ का मतदाताले अब यो स्ट्याटसलाई भावनाले होइन, विवेकले पढ्नुपर्छ। पहिला आफैंलाई प्रश्न गर्नुपर्छ—हामीलाई फेसबुकमा लेखिएको आत्मकथा चाहिएको हो, कि पाँच वर्षमा देखिने परिणाम ? हामीलाई शब्दले भरिएको छवि चाहिएको हो, कि कामले भरिएको प्रतिनिधित्व?
चुनाव ताली बजाउने समारोह होइन, त्यसैले यो प्याकुरेल मात्र होइन, हरेक नेता र उम्मेदवारसँग हिसाब–किताब गर्ने समय हो। आगामी चुनावमा लडाइँ जनताको मुद्दाभन्दा पनि आफैंलाई महान् प्रमाणित गर्ने कथानक पात्रहरुको हुँदैछ। अब फैसला जनताले गर्नुपर्नेछ—रुने, कराउने, चिच्याएर नाटक देखाउने, चुनावताका गधाका पनि खुट्टा समाएर मत लिने अनि फर्केर नआउने, घोषणा पत्र जारी गर्ने तर चुनाव जितेपछि त्यसलाई फर्केर नहेर्ने, काम गर्नु भन्दा निर्वाचन क्षेत्र नै फेर्ने, चुनावका वेला फण्डा अपनाउने तर जनता/प्रश्नसँग भागेर हिँड्ने र फेसबुकको नेता रोज्ने कि जिम्मेवार जनप्रतिनिधि?


