‘सर्कसको जोकर’देखि संसदको रणभूमिसम्मः ऋषि धमला फेरि चर्चाको केन्द्रमा
राजविराज– दोहोरो नागरिक्ता प्रकरणमा गृहमन्त्री पद खोसिएपछि आक्रोसित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई ‘१२ भाइ’को ट्याग लगाउँदै गर्दा ऋषि धमलालाई चाहिँ ‘सर्कसको जोकर’ भनेका थिए– सवैलाई याद होला।
त्यो टिप्पणी एक व्यक्तिमाथिको कटाक्ष मात्रै थिएन, नेपाली पत्रकारिताको एउटा पुरानो र विवादास्पद चरित्रमाथिको सार्वजनिक आलोचना थियो। तर त्यो फैसलाले धमलालाई कमजोर बनायो कि झन् चर्चाको केन्द्रमा तान्यो ? भन्ने विषय हेर्ने र वुझ्नेले आफैं छुट्याउलान। तर, धमला हराएका छैनन्, चर्चाको केन्द्रमै छन्।
ऋषि धमला पत्रकारितामा ‘नाम होस् या बदनाम, तर गुमनाम नहोस्’ भन्ने सूत्रमा हिँड्ने पात्र हुन्। देशका प्रधानमन्त्री सबैलाई थाहा नहुन सक्छ, तर धमलालाई नचिन्ने नेपाली भेटिन गाह्रो भइसकेको छ। यही चिनारी उनको सबलता पनि हो, अनि विवादको जरो पनि।
सोसल मिडियाको प्रभुत्व सुरु हुनुअघि धमला रेडियो र टेलिभिजनमा पाहुनामाथि प्रश्नले ‘हमला’ गर्ने पत्रकारका रूपमा चिनिन्थे। जवाफ नसकिँदै अर्को प्रश्न, त्यो पनि धेरैजसो उत्तेजक र असहज। रेडियो र टेलिभिजनको युगमा यो शैली ‘धमलाको हमला’ भनेर स्थापित भयो। आलोचना भए पनि उनी हराएनन्, बरु झन् बलिया बने।
तर समय फेरिँदै जाँदा पत्रकारिताको स्वरूप पनि फेरियो। सोसल मिडियाको उदयसँगै मूलधारको हमला मात्रै चर्चित हुन छाड्यो। त्यसपछि धमलाले आफ्नो शैली बदले—हमलामा ह्युमर मिसियो, बहस भिडन्तमा बदलियो। उनका कार्यक्रममा अतिथिहरु बहस होईन, एकअर्कासँग जुध्न थाले। दर्शक पनि सत्य खोज्न होइन, तमासा हेर्न टेलिभिजन खोलेर वस्न थाले।
उनका अन्तरर्वाताले युट्युबमा भ्युज चुलियो। भ्युजसँगै धमलाको प्रस्तुति झन् नाटकीय बन्यो। दुःखका समाचारमा धुरुधुरु रुने, मौसमका समाचारमा चिच्याउने, पत्रकारभन्दा कलाकारझैँ देखिने। समर्थकले यसलाई ‘सिग्नेचर स्टाइल’ भने, आलोचकले ‘एक्टिङ पत्रकारिता’।
रवि लामिछानेको ‘सर्कसको जोकर’ टिप्पणी यही पृष्ठभूमिमा आएको हो। त्यो टिप्पणीले धमलाको शैलीमाथि मात्र होइन, उनको पत्रकारितामाथि नै प्रश्न उठायो। तर धमलाले न प्रतिवाद गरे, न प्रतिक्रिया जनाए। उनी चुपचाप अघि बढे। आलोचनालाई इन्धन बनाउने उनको पुरानै बानी यहाँ पनि दोहोरियो।
चुनावी मैदानमा उत्रिँदा पनि उनले त्यो शैली छाडेनन्। उम्मेदवारी दर्ताको अघिल्लो दिन चुनाव लड्ने घोषणा गर्दै मधेस झरेका धमला रौतहट–४ बाट उम्मेदवार बने। प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट, जहाँ उनकी श्रीमती उपाध्यक्ष छिन्। उम्मेदवारी दर्ता नहुँदै उनले घरदैलो अभियानलाई तिव्रता दिए।
उनलाई कहीँ जेरी बनाउँदै, कहीँ काठ काट्दै, कहीँ साइकल चलाउन सिक्दै, कहीँ उखुबारीमा उखु बोक्दै गरेको देखिन्छ। धमलाका हरेक गतिविधि चुनावी प्रचारभन्दा बढी क्यामेरामुखी देखिन्छन्। किसानको भान्सादेखि बारीसम्म पुगेर संवाद गर्छन, अँगालो मार्छन्, माला थाप्छन्। ट्याक्टर चढ्छन्। उनका यी गतिविधि धेरैलाई योजनाबद्ध ‘चर्तिकला’ लाग्छन्, तर त्यही चर्तिकलाले उनी फेरि भाइरल भईरहेका छन्।
यद्यपी, धमला आफूलाई तमासाको पात्र मात्रै देखाउन चाहँदैनन्। बिरामी भेट्दा भावुक हुन्छन्, रुन्छन्– टेलिभिजनकै शैलीमा। ‘म भाषण कम, एक्सन बढी गर्छु’ भन्दै आफूलाई ‘सिरियस’ प्रमाणित गर्न खोज्छन्। १४ वर्षको उमेरदेखि पत्रकारिता गरेको दाबी गर्दै अब भ्रष्टाचारविरुद्ध र सुशासनका लागि राजनीति रोजेको उनको तर्क छ।
रौतहटका लागि उनले मेडिकल कलेज खोल्ने ‘मास्टर प्लान’ सुनाएका छन्। ‘आज म विशेष खुलासा गर्दैछु’ भन्ने पुरानै लयमा एक वर्षभित्र गुरुयोजना ल्याएर जिल्लाको मुहार फेर्ने वाचा गरेका छन्। जनतासँग अन्तक्र्रिया गर्ने, नेतासँग होइन भन्ने घोषणा पनि त्यही शैलीमै आएको छ।
रवि लामिछानेले प्रयोग गरेको ‘सर्कसको जोकर’ शब्दले धमलालाई रोकेको छैन। बरु त्यो शब्दले उनलाई फेरि चर्चाको रंगमञ्चमा उभ्याएको छ। किनकि धमलाको पत्रकारिता र राजनीति दुवै एउटा रंगमञ्चजस्तै देखिन्छ—जहाँ आलोचना पनि प्रचार हो, गाली पनि ब्रान्डिङ।
कसैले उनलाई जोकर भनोस् या स्टार, धमला आफ्नै बाटो हिँडिरहेका छन्। त्यो बाटो संसदसम्म पुग्छ कि फेरि सोसल मिडियाकै रंगमञ्चमा सीमित हुन्छ, त्यो निर्णय जनताले गर्नेछन्। तर एउटा कुरा चाहिँ निश्चित छ—ऋषि धमला गुमनाम हुने छैनन्, नाम बनाएर होस या बदनाम भएर।

