गाई खाने प्रकरणमा खगेन्द्र सुनारलाई रास्वपाले सोध्यो स्पष्टीकरणः संयम अपनाउन कडा निर्देशन

काठमाडौँ— ‘गाई काटेर खान पाउनु पर्छ’ भन्ने अभिब्यक्तिका कारण विवादमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बनेका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ। पार्टीले सुनारलाई भविष्यमा सार्वजनिक अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र मर्यादा कायम राख्न कडा निर्देशनसमेत दिएको छ।

रास्वपाले भनेको छ, ‘सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा भ्रम फैलिएको र धार्मिक–सांस्कृतिक भावनामा ठेस पुगेको भन्दै उनले यसअघि नै सार्वजनिक रूपमा क्षमायाचना गरिसकेका छन्।’ पार्टीका अनुसार ती अभिव्यक्तिहरूलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक विवाद सिर्जना भएपछि यस विषयमा पार्टीले गम्भीर ध्यान दिएको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा रास्वपा नेपालको संविधान, प्रचलित कानुन तथा सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। विज्ञप्तिमा सुनारले आफू शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको कुरा सार्वजनिक रूपमै स्पष्ट गरिसकेको उल्लेख छ।

सामाजिक सञ्जालमा उनका भनाइहरूलाई तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र पीडाप्रति उनले आत्मलोचना गर्दै क्षमायाचना गरेको पार्टीको दाबी छ। पार्टीले उम्मेदवार सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको निष्कर्षमा पुगेको जनाएको छ। यद्यपि, भविष्यमा यस्ता विषयमा थप सजग र जिम्मेवार हुन पार्टीले औपचारिक रूपमा सचेत गराएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले आफ्नो विधान र प्रस्तावनामा नेपालको धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व, पारस्परिक सम्मान र राष्ट्रिय एकतालाई मूल आधार मानेको पुनः दोहो¥याएको छ। पार्टीले विधिको शासन, सामाजिक न्याय तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट सन्देश दिएको छ।

विज्ञप्तिमा रास्वपाले कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि र सामाजिक सद्भाव बिगार्ने कार्यको विपक्षमा आफू दृढ रहेको उल्लेख गर्दै आफ्ना उम्मेदवारहरू संसदमा संयमित, मर्यादित र जिम्मेवार नेतृत्वका रूपमा प्रस्तुत हुने विश्वास दिलाएको छ। पार्टीले समावेशी र सद्भावपूर्ण समाज निर्माणको अभियानमा अडिग रहने प्रतिबद्धतासमेत दोहोर्‍याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट