धादिङ–१ मा घण्टीको तमासाः कुखुरा–बाख्रासँग भोट माग्दै आशिका तामाङ, मतदाताले सोधे नीति र योजना खै ?
काठमाडौँ— प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बनेको छ। उम्मेदवारहरू घरदैलो, सभा–सम्पर्क र सामाजिक सञ्जालमार्फत मत माग्न व्यस्त छन्। तर यही प्रचारशैली कतिपयका लागि उल्टै आलोचना र विवादको कारण बन्न थालेको छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर–१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ। पार्टीभित्रका अन्य आकांक्षीलाई पछाडि पार्दै टिकट हात पारेकी तामाङ अहिले क्षेत्रमा तीव्र प्रचारमा छिन्। तर उनको प्रचारशैली भने चुनावी बहसभन्दा बढी ‘स्टन्ट’ र ‘नौटंकी’ का रूपमा चर्चामा आउन थालेको छ।
हालै सार्वजनिक भएको एउटा भिडियोमा उनी चुनाव चिन्ह ‘घण्टी’ बजाउँदै कुखुराको भालेसँग ‘दिदीलाई भोट हाल है भाले’ भन्दै आग्रह गरेको देखिन्छ। उक्त दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। कतिपयले यसलाई हल्का शैलीको रचनात्मक प्रचार भने पनि धेरैले गम्भीर राजनीतिक प्रतिस्पर्धामा यस्तो शैली अनुपयुक्त भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ता राजेश थापाले उनको प्रचारशैलीप्रति असन्तुष्टि जनाउँदै ‘कहिले बाख्रालाई भोट हाल भन्छिन्, कहिले भालेलाई, यसरी भोट माग्ने तरिका सुधार्नुपर्छ’ भन्दै लेखेका छन्। अर्का प्रयोगकर्ता नारायण न्यौपानेले व्यङ्ग्य गर्दै ‘मान्छेले त नदेला, कुखुरा–बाख्राले पो दिन्छन् कि भोट’ टिप्पणी गरेका छन्।
विवाद यत्तिमै सीमित छैन। धादिङको सिद्धलेक–४ बुङचुङ चोकमा घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले उनलाई घेरेर विकास, प्रशासनिक सुधार र दीर्घकालीन राजनीतिक दृष्टिकोणबारे प्रश्न गरेका थिए। तर ती प्रश्नको स्पष्ट र ठोस जवाफ दिन उनी असमर्थ देखिइन्।
स्थानीय युवा केशव सिलवालले ‘देशलाई दिगो विकासतर्फ लैजाने तपाईंहरूको स्पष्ट धारणा के हो?’ भनेर सोध्दा तामाङले आफू राजनीतिमा नयाँ भएको र घोषणापत्रमार्फत काम गर्ने सामान्य जवाफ मात्र दिइन्। उनको उत्तरबाट सन्तुष्ट नभएपछि सिलवालले ‘कुखुरा–बाख्रासँग नौटंकी नगरी मान्छेसँग कुरा गरेर भोट माग्नुस्’ भन्दै खुलेआम असन्तुष्टि जनाए।
त्यसपछि तामाङले सामाजिक सेवाका उदाहरण दिँदै कुकुरको ट्युमर निकालेको तस्बिर देखाएर सहानुभूति बटुल्न खोजेकी थिइन्। तर मतदाताले ‘हामीलाई जनावरको होइन, मान्छेको विकास चाहिएको हो’ भन्दै पुनः नीति र योजना मागे। घटनास्थलमा उपस्थित केही युट्युबरहरूले हस्तक्षेप गर्न खोज्दा स्थानीयले ‘उम्मेदवारले आफैं जवाफ दिनुपर्छ’ भन्दै रोकेका थिए।
चुनावी प्रचारमा सिर्जनात्मकता देखाउनु सामान्य मानिए पनि मतदाताले उम्मेदवारबाट स्पष्ट योजना, दृष्टिकोण र जवाफदेहिता अपेक्षा गर्ने गर्छन्। धादिङ–१ मा तामाङको प्रचारशैलीले भने सहानुभूतिभन्दा बढी प्रश्न र आलोचना जन्माएको देखिन्छ। चुनाव नजिकिँदै जाँदा उनको प्रचार ‘भाइरल दृश्य’ मै सीमित रहने हो कि मतदाताको भरोसा जित्ने ठोस एजेन्डामा रूपान्तरण हुन्छ भन्ने कुराले नै अन्तिम परिणाम तय गर्नेछ।

