सप्तरीमा ‘रकेट’ विस्फोट प्रकरणः घटनास्थलमा एक महिनाअघि सेनाले गरेको थियो बिस्फोटक अभ्यास

राजविराज — सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलाको किनारामा शनिबार भएको ‘रकेट जस्तो’ शंकास्पद वस्तु विस्फोटको घटनाले अब सुरक्षा संयन्त्रमाथि गम्भिर प्रश्न खडा गरेको छ। यो घट्ना सुरक्षा संयन्त्रकै गम्भीर लापरवाही र जवाफदेहितामाथि ठाडो प्रश्न हो।

चार जना बालक घाइते भएको सोही स्थाननजिकै एक महिनाअघि मात्रै नेपाली सेनाले बिस्फोटक अभ्यास गरेको तथ्य खुलेपछि घटनाले झनै संवेदनशील र विवादास्पद रूप लिएको हो। स्थानीय बालबालिका वनभोज खान खोलातर्फ पुगेका थिए। उनीहरूले खोलामा भेटिएको धातुजन्य वस्तुलाई खेलौना ठानेर दाउरासँगै चुल्हो नजिक राखे। केही बेरमै ठूलो आवाजसहित उक्त वस्तु पड्कियो। छर्रा चारैतिर उड्दा बालकहरू जमिनमै लडे। रमाइलो गर्न गएका बालबालिकामाथि क्षणभरमै रगताम्य त्रासदी आइलाग्यो।

विस्फोटमा परी साजन आले मगरका ११ वर्षीय साहस, मनोज थापा मगरका ९ वर्षीय प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय कविर र पदमबहादुर विकका १३ वर्षीय सुरज घाइते भएका छन्। उनीहरूको खुट्टा, हात र शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि उनीहरूलाई रुपनीस्थित मधेश प्रदेश प्रहरी अस्पताल हुँदै थप उपचारका लागि राजविराज ल्याइएको छ।

घटना भएको क्षेत्र सामुदायिक वनभित्र पर्छ, जहाँ नेपाली सेना बरख गण राजविराजले बेला–बेलामा बिस्फोटक अभ्यास गर्दै आएको पुष्टि भएको छ। स्थानीयका अनुसार त्यहाँ गोलाबारुद, डमी बम र विस्फोटक सामग्री प्रयोग गरी तालिम सञ्चालन हुने गरेको छ। पछिल्लो पटक करिब एक महिनाअघि मात्रै अभ्यास गरेर सेना फर्किएको थियो।

यही तथ्यले अहिले सबैभन्दा गम्भीर प्रश्न उठाएको छ — यदि त्यहाँ नियमित रूपमा बिस्फोटक अभ्यास हुन्थ्यो भने त्यो क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित किन बनाइएन। प्रयोग गरिएका सामग्रीको संकलन र सफाइ गरिएको थियो कि थिएन?

बालबालिकाले भेटेको ‘रकेट जस्तो’ वस्तु कुनै साधारण खेलौना नभई विस्फोटक प्रकृतिको सामग्री हुनु संयोग मात्र मान्न कठिन देखिन्छ। आकार, बनावट र विस्फोटको शक्ति हेर्दा त्यो सैन्य अभ्यासमा प्रयोग हुने अवशेष हुनसक्ने आशंका स्थानीयको छ। यदि त्यस्तो हो भने यो घटना दुर्घटना होइन, प्रत्यक्ष लापरवाहीको परिणाम ठहर्नेछ।

नेपाली सेना बरख गण राजविराजका प्रमुख सेनानी सोबितबहादुर चन्दले घटनास्थल पुगेर अनुसन्धान भइरहेको बताएका छन्। उनले अनुमति लिएर मात्र अभ्यास गरिने दाबी गरे पनि घटनाको स्रोतबारे स्पष्ट जवाफ दिएका छैनन्। सप्तरीका सीडीओ टुवराज पोखरेलले पनि सेनाबाट ‘कुनै विस्फोटक वस्तु नछुटेको’ जानकारी आएको बताए। तर भुइँमै रकेट जस्तो वस्तु पड्किएर बालक घाइते भएपछि सरकारी दाबी र वास्तविकता बीच ठूलो अन्तर देखिएको छ।

स्थानीय बासिन्दाले भने आक्रोश व्यक्त गरेका छन्। सार्वजनिक वन, खोलातीर र बालबालिका घुम्ने क्षेत्रमा विस्फोटक जोखिम हुनु अस्वीकार्य भएको उनीहरूको भनाइ छ। ‘यदि यो सेनाको अभ्यासको अवशेष हो भने यसलाई सीधै लापरवाही भन्नुपर्छ,’ एक स्थानीयले भने, ‘आज चार बालक घाइते भए, भोलि ज्यानै जान सक्छ।’

सुरक्षा निकायले ‘अनुसन्धान भइरहेको’ भन्ने औपचारिक वाक्य दोहो¥याइरहे पनि मूल प्रश्न अझै अनुत्तरित छ — आखिर त्यो विस्फोटक वस्तु त्यहाँ कसरी पुग्यो? कसले छोड्यो? र किन हटाइएन? बालबालिकाको ज्यान जोखिममा पार्ने यस्तो घटनामा केवल प्राविधिक रिपोर्टले मात्र पुग्दैन। जिम्मेवारी तोकिएर जवाफदेहिता स्थापित हुनुपर्ने स्थानीयको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट