रक्सीको कहरः रंगेलीमा रक्सी खाएर मोटरसाइकल चलाउँदा श्रीमानको ज्यान गयो, श्रीमती अस्पतालमा

विराटनगर — रक्सी खाएर चलाएको मोटरसाईकल दुर्घटना हुँदा मोरङको रंगेलीमा आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती अश्पतालको शैय्यामा छिन्।

हुलाकी सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–२ स्थित चेकापुल नजिक दिउँसो करिव सवा १ बजे को ३० प ३९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। कुनै अर्को सवारीसँग ठोक्किएको होइन, चालककै नियन्त्रण गुमेपछि मोटरसाइकल आफैं लडेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

तर त्यो ‘आफैं लड्नु’को कारण भने सामान्य थिएन। चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ। दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका–५ का ३३ वर्षीय रामनारायण महतो गम्भीर घाइते भए। स्थानीयले हतारहतार रंगेली अस्पताल पु¥याए पनि उपचार सुरु हुनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।

उनकी ३० वर्षीया श्रीमती द्रौपति महतो पछाडि सवार थिइन्। दुर्घटनामा उनी पनि घाइते भइन् र हाल रंगेली अस्पतालमै उपचाररत छिन्। प्रहरीले उनको अवस्था सामान्य रहेको जनाएको छ, तर मानसिक र पारिवारिक आघात कति गहिरो होला भन्ने अनुमान गर्न गाह्रो छैन। एउटै दुर्घटनाले परिवारको आधारस्तम्भ नै गुमाएको छ।

मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ। मापसे र तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। अर्थात् यो दुर्घटना भाग्यको खेलभन्दा बढी लापरवाहीको प्रत्यक्ष परिणाम हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। तर अनुसन्धानले जे निष्कर्ष निकाले पनि एउटा सत्य स्पष्ट छ— स्टीयरिङ वा ह्याण्डल समात्दा नशामा हुनु भनेको आफ्नै ज्यान र सँगै बसेकाको जीवनसँग जुवा खेल्नु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट