सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाका इन्जिनियरको गोली हानी हत्या
सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ भएको एक योजनाबद्ध गोलीकाण्डले राज्यको सुरक्षा संयन्त्र र स्थानीय शान्ति व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सदरमुकाम नै स्तब्ध बनेको छ।
करिब पौने ८ बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उनलाई लक्षित गरी गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार यादव आफ्नो डेरामा कोठाभित्रै रहेका बेला अज्ञात व्यक्तिले फोन गरेर बाहिर बोलाएका थिए। कम्पाउण्डमा निस्किएलगत्तै उनीमाथि नजिकैबाट गोली प्रहार गरिएको थियो।
बायाँ छातीमा गोली लागेका ३६ वर्षीय यादव गम्भीर घाइते अवस्थामा ढलेका थिए। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पु¥याइए पनि चिकित्सकले उपचार सुरु गर्नासाथ मृत घोषणा गरेका थिए।
सिरहाको सुखीपुर नगरपालिका–३ वैशाखा घर भएका यादव करिब एक वर्षदेखि मलंगवामा भाडाको घरमा बस्दै आएका थिए। उनी श्रीमती र एक छोरीका अभिभावक हुन। परिवारका सदस्यहरूका अनुसार घटनाअघि कुनै प्रत्यक्ष धम्कीको संकेत नदेखिए पनि पछिल्लो समय कार्यालयका कामकाजका विषयमा उनी व्यस्त रहेको बताइएको छ।
यसले घटनाको पृष्ठभूमि केवल व्यक्तिगत रिसइबी मात्रै हो कि पेशागत कारणले लक्षित आक्रमण भयो भन्ने प्रश्न जन्माएको छ। मलंगवा जस्तो संवेदनशील सदरमुकाम क्षेत्रमा साँझको समयमा योजनाबद्ध ढंगले सरकारी कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीको हत्या हुनु सामान्य आपराधिक घटना मात्र होइन। यसले कानून व्यवस्था र सुरक्षाको प्रभावकारितामाथि प्रत्यक्ष चुनौती दिएको छ।
गोली प्रहारपछि आक्रमणकारीहरू सहजै फरार हुनु सुरक्षा संयन्त्रको निगरानी प्रणाली कत्तिको कमजोर छ भन्ने संकेत पनि हो। घटनापछि मलंगवामा सुरक्षा व्यवस्था कडा पारिएको छ। विभिन्न नाकामा चेकजाँच तीव्र बनाइएको र सम्भावित संलग्नहरूको खोजीमा प्रहरी परिचालित भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको कारण खुलिनसकेको र विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ। तर यसअघि पनि मधेस क्षेत्रमा सरकारी कर्मचारी र व्यवसायीमाथि लक्षित आक्रमणका घटनाहरू दोहोरिँदै आएका सन्दर्भमा यो हत्या आकस्मिक मात्र नभई गम्भीर आपराधिक प्रवृत्तिको निरन्तरता हुनसक्ने आशंका गरिएको छ।
मलंगवामा अहिले पनि त्रासको वातावरण छ। सरकारी कर्मचारीहरू असुरक्षित महसुस गरिरहेका छन् भने स्थानीय बासिन्दाले सदरमुकाममै यस्तो घटना हुनुले सुरक्षा अवस्था कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
