छोराको विद्रोही उम्मेदवारीले इटहरी–१७ का वडाअध्यक्ष प्रभात आचार्य एमालेबाट निष्कासित

इटहरी– नेकपा (एमाले) सुनसरीले आफ्नै पार्टीबाट निर्वाचित इटहरी उपमहानगरपालिका–१७ का वडाअध्यक्ष प्रभातकुमार आचार्यलाई पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट निष्कासन गरेको छ। उनका छोरा आदित्य आचार्यको उम्मेदवारीको विषय चर्किदै जाँदा प्रभातकुमार कारवाहीमा परेका हुन।

जिल्ला कमिटी सदस्यसमेत रहेका आचार्यले पार्टी निर्णय, नीति र नेतृत्वविरुद्ध गतिविधि जारी राखेको आरोप लगाउँदै एमाले सुनसरीले पार्टी विधानको धारा ८ उपधारा १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ। कार्यवाहक अध्यक्ष पर्शुराम यादवद्वारा जारी पत्रमा आचार्यलाई पटक–पटक सचेत गराइएको, दुईपटक स्पष्टीकरण सोधिएको तर अटेर गरेको उल्लेख छ।

कोशी प्रदेश कमिटी, जिल्ला संगठन विभाग र इटहरी उपमहानगर कमिटीलाई बोधार्थ दिँदै कारबाही कार्यान्वयन गरिएको जनाइएको छ। यो कारबाहीको केन्द्रमा छन् आचार्यका छोरा आदित्य आचार्य, जो सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्र निर्माण दल नेपालबाट उम्मेदवार बनेका छन्। फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आदित्यले उम्मेदवारी दिएसँगै एमाले सशंकित बनेको थियो।

पार्टी स्रोतका अनुसार प्रभात आचार्यमाथि छोराका लागि मत मागेको र पार्टीविरुद्ध अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो। यही आरोपलाई आधार बनाएर पार्टीले कठोर निर्णय लिएको देखिन्छ।

तर आचार्यले भने आफूलाई कारबाही गरिएको औपचारिक जानकारी नपाएको प्रतिक्रिया दिएका छन्। उनले छोराको उम्मेदवारी व्यक्तिगत अधिकार भएको दाबी गर्दै आफूले मत नमागेको स्पष्ट पारेका छन्। उनका अनुसार पारिवारिक सम्बन्धका कारण राजनीतिक अधिकार कुण्ठित गरिनु उचित होइन। यो अभिव्यक्तिले एमालेको अनुशासन र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गरेको छ।

प्रभात आचार्यको राजनीतिक यात्रा पनि विवादरहित छैन। उनी यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए र २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए। पार्टी परिवर्तनको पृष्ठभूमि भएका नेतामाथि अनुशासन उल्लंघनको आरोप लाग्नु एमालेभित्रको विश्वास संकटको संकेतका रूपमा हेरिएको छ।

सुनसरी–२ मा प्रतिस्पर्धा झन् पेचिलो बन्दै गएको छ। एमालेबाट सुजन लामा, कांग्रेसबाट केन्द्रीय सदस्य राजीव कोइराला, नेकपाबाट रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापालगायत २८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

यस्तो प्रतिस्पर्धी वातावरणमा आफ्नै पार्टीका निर्वाचित जनप्रतिनिधिको परिवारबाट वैकल्पिक उम्मेदवारी आउनु एमालेका लागि राजनीतिक रूपमा असहज विषय बनेको छ। यता, इटहरी–१७ बाट निर्वाचित वडाअध्यक्षलाई नै पार्टीबाट हटाइनुले स्थानीय तहमा एमालेको संगठनात्मक स्थायित्वमाथि प्रश्न खडा भएको छ।

निर्वाचन नजिकिँदै गर्दा यस्तो कारबाहीले पार्टीलाई सुदृढ बनाउँछ कि थप विभाजनतर्फ धकेल्छ, यसको असर आगामी परिणामले देखाउनेछ। तर यति स्पष्ट छ—छोराको उम्मेदवारीले सुरु गरेको तरंगले एमाले सुनसरीभित्रै विस्फोटक रुप लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट