भाषणमै दोहोरो मापदण्डः जेल फोडेर भागेको आरोप बोकेका रवि लामिछाने ‘हेलिकप्टर’ भनेर ओलीलाई गिज्याउँदै

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक संकटको निकास चुनावबाट मात्रै सम्भव हुने दाबी गर्दै कडा राजनीतिक सन्देश दिएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित सुर्खेतमा आयोजित आमसभामा उनले चुनाव सार्ने वा रोक्ने चर्चा भइरहेकोतर्फ संकेत गर्दै ‘चुनावले निकास नदिए कसले दिन्छ?’ भन्ने प्रश्न उठाए।

लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो शक्ति भएको दाबी गर्दै उनले जनताको भोटबाट परिवर्तन ल्याउनु नै लोकतन्त्रको सार भएको बताए। उनले सडक आन्दोलन र चुनाव दुवै विकल्प हुन सक्ने संकेत गरे पनि आफूहरू रगतको एक थोपा पनि नबगाई जनताको मतबाटै परिवर्तन चाहेको बताउँदै ‘रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस’ भन्दै धम्कीयुक्त आह्वान गरे। उनका अनुसार अहिले जनतामा चेतना बढेको छ र यही बेला चुनावबाट राजनीतिक निकास खोज्नुपर्ने समय आएको छ।

भाषणका क्रममा उनले लोकतन्त्रलाई खतरा ‘हेलिकप्टर चढेर भाग्ने मानसिकता’बाट आउने टिप्पणी गर्दै सत्ता केन्द्रहरूतर्फ व्यंग्य गरे। उनको संकेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ रहेको राजनीतिक वृत्तमा व्यापक रूपमा चर्चा भयो। उनले सिंहदरबार वा बालुवाटारमा पुरानै प्रवृत्ति फर्किए लोकतन्त्र कमजोर हुने चेतावनी दिएका थिए।

तर लामिछानेको यो भाषणसँगै राजनीतिक बहसको अर्को पाटो पनि सतहमा आएको छ। आलोचकहरूले प्रश्न उठाइरहेका छन— अरूलाई ‘भागेको’ आरोप लगाउने लामिछाने आफैं कति विवादमुक्त छन? उनका राजनीतिक वक्तव्यसँगै विगतका विभिन्न विवाद र आरोपहरू पुनः चर्चामा आउन थालेका छन्।

उनको जीवन यात्रालाई हेर्दा नागरिकता विवाददेखि राहदानी प्रकरणसम्मका घटनाले उनलाई पटक–पटक विवादको केन्द्रमा ल्याएको छ। अमेरिका बसाइका क्रममा नेपाली नागरिकता त्यागेको र पछि नेपाल फर्किएपछि नागरिकता तथा राहदानीसम्बन्धी कानुनी प्रश्न उठेका कारण उनले उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद र पार्टी सभापति पदसमेत गुमाउनुपरेको थियो। पछि कानुनी प्रक्रिया पूरा गरी नागरिकता पुनः प्राप्त गरेपछि चितवनको उपनिर्वाचन जितेर उनी पुनः संसदमा फर्किए र पुनः गृहमन्त्री बने।

यसबीच सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसँग सम्बन्धित मुद्दाहरू देशका विभिन्न अदालतमा दर्ता भएको भन्दै उनका आलोचकहरूले गम्भीर प्रश्न उठाउँदै आएका छन्। कतिपय मुद्दा अझै अदालतमा विचाराधीन रहेको बताइन्छ। राजनीतिक विरोधीहरू भने लामिछानेमाथि जेल तोडेर भागेको र आन्दोलनको आडमा कैदीबन्दी भागेको घटनासँग जोडिएको आरोपसमेत लगाउँदै आएका छन्, यद्यपि यी विषयहरू राजनीतिक विवाद र आरोप–प्रत्यारोपको दायरामै रहेका छन्।

टेलिभिजन पत्रकारिताबाट चर्चामा आएका लामिछानेले राजनीतिक दल र नेतामाथि कडा आलोचना गर्दै लोकप्रियता कमाएका थिए। त्यही लोकप्रियताको बलमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे र छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाए। तर सत्ता र शक्तिको केन्द्रमा पुगेपछि उनी आफैं विवाद र कानुनी प्रश्नहरूको घेरामा परे। यही कारणले अहिले उनले चुनावमार्फत परिवर्तनको नारा दिँदा त्यसलाई समर्थन गर्ने र प्रश्न गर्ने दुवै पक्ष बलियो देखिएको छ।

सुर्खेतबाट आएको उनको भाषणले एकातिर चुनावको बहसलाई राष्ट्रिय एजेन्डा बनाउन खोजेको संकेत दिएको छ भने अर्कोतिर राजनीतिक विश्वसनीयता, नैतिकता र नेतृत्वबारे फेरि नयाँ बहसको ढोका खोलेको छ। परिणामतः लामिछानेको भाषण केवल चुनावको माग मात्रै नभई नेपाली राजनीतिमा आरोप, प्रत्यारोप र नेतृत्वको विश्वसनीयतामाथि चर्किएको बहसको अर्को अध्याय बन्न पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट