पालिका प्रमुखको गाडीले ठक्कर दिएर घाईते भएकी महिला उपचार खर्च वुझाउन नसक्दा अस्पतालमा बन्धक
राजविराज — स्थानीय तह प्रमुखको गाडीको ठक्करबाट घाइते भएकी एक महिलाको उपचार सकिए पनि खर्च तिर्न नसक्दा अस्पतालमै थुनिनुपरेको घटनाले सप्तरीमा स्थानीय सरकारको जिम्मेवारी र मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।
राजविराज–१५ मुसहरनियाकी ३५ वर्षीया शिवकुमारी मण्डल सोमबार साँझ भएको दुर्घटनापछि अस्पताल पु¥याइए पनि अहिले चार दिन बितिसक्दा पनि डिस्चार्ज हुन पाएकी छैनन्। कारण हो—उपचार खर्च तिर्न नसक्नु।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सवार मधेश प्रदेश ०६–००१ झ ०००५ नम्बरको गाडीले राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत तेतरीगाछीमा उनलाई ठक्कर दिएको थियो। दुर्घटनापछि अध्यक्ष चौधरी आफैंले उनलाई अस्पताल पुर्याएर भर्ना गराएका थिए र उपचार खर्च सबै बेहोर्ने आश्वासनसमेत दिएका थिए।
तर, त्यसपछि घटनाको कथा अर्कैतर्फ मोडियो। अस्पतालको बेडमा घाइते महिला उपचार पाएर निको भइसके पनि खर्च तिर्ने व्यक्ति नआउँदा उनी त्यहीँ अड्किएकी छिन्। मण्डलका अनुसार दुर्घटनाको क्षणदेखि अस्पतालसम्म ल्याइँदासम्म आश्वासन धेरै थिए, तर त्यसपछि सबै मौन भयो।
‘ठक्कर दिएपछि गाडीमै भएकाले अस्पतालसम्म ल्याए, उपचार खर्च सबै म तिर्छु भनेर मेरै अगाडि भनेका थिए,’ उनले भनिन्, ‘तर यहाँबाट गएपछि न फोन आयो, न हेर्नै आए।’ अस्पताल भर्ना भएको पहिलो दुई दिन त उनी भोकै बस्नुपरेको बताउँछिन्। पछि अस्पताल प्रशासनले नै बाहिरको होटलमा खाना खाने व्यवस्था मिलाइदिएको थियो।
टाउको, बायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेकी मण्डल उपचारपछि बुधबार नै निको भइसकेकी थिइन्। चिकित्सकले डिस्चार्जका लागि तयारी पनि गरेका थिए। तर बिल तिर्ने कोही नआएपछि उनी अस्पतालमै बस्न बाध्य भइन्। उनको परिवार पनि आर्थिक अभावमा छ। श्रीमानसँग समेत अस्पताल खर्च तिर्ने रकम नभएको उनले बताइन्। ‘अस्पतालले डिस्चार्ज गरिदिन्छु भन्यो, तर पैसा नतिरेपछि कसरी जाने?’ उनी भन्छिन्, ‘अब घर फर्किन पनि पैसा नै बाधा बनेको छ।’
अस्पताल प्रशासनले पनि यही समस्या स्वीकार गरेको छ। छिन्नमस्ता अस्पतालका सूचना अधिकारी दीपेन्द्रकुमार यादवका अनुसार पालिका अध्यक्षलाई उपचार खर्चबारे जानकारी गराइएको थियो, तर हालसम्म बिल तिर्न कोही नआएको अवस्था छ। उनले अस्पतालले पुनः सम्पर्क गर्ने प्रयास गरिरहेको बताए।
घटनाबारे स्थानीय स्तरमा असन्तोष बढ्दै गएको छ। दुर्घटनापछि उपचार गराउने जिम्मेवारी लिएको भनिएको व्यक्ति नै सम्पर्कविहीन हुँदा पीडित अस्पतालमै थुनिनु परेको भन्दै स्थानीयले प्रश्न उठाइरहेका छन्। उता अध्यक्ष चौधरीसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन। गाउँपालिकाका गुनासो सुन्ने अधिकारी जितेन्द्र झाले अस्पताल प्रशासनबाट औपचारिक जानकारी नआएको दाबी गरेका छन्।
दुर्घटनाको जानकारी भने प्रहरीसम्म पुगेको छ। गजेन्द्रनारायण सिंह अस्पताल क्षेत्रमा प्रहरी हवलदार राजेश पासवान नेतृत्वको टोलीले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको बताइएको छ। तर उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्नुपर्ने अवस्था अहिलेसम्म समाधान हुन सकेको छैन।
यस घटनाले सडक दुर्घटनापछिको जिम्मेवारी, स्थानीय तहका जनप्रतिनिधिको नैतिक दायित्व र गरिब नागरिकको स्वास्थ्य सेवासम्मको पहुँचबारे गम्भीर बहस जन्माएको छ। उपचार सकिएपछि पनि अस्पतालबाट बाहिर निस्कन नपाउने अवस्था आफैंमा एउटा कठोर यथार्थ हो, जहाँ दुर्घटनाको चोटभन्दा पनि आर्थिक अभावले पीडितलाई थप पीडा दिएको देखिन्छ।
