उदयपुर–१ मा पारषमणि गेलालको भाषणको चिरफारः चुनाव जित्न जे पनि बोल्ने राजनीति

बेल्टार (उदयपुर) – उदयपुर क्षेत्र नम्बर १ मा चुनावी अभियान तिब्र बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारषमणि गेलालको भाषण चर्चामा छ। उनले आफनो भाषणलाई फेसवुक पेजमा राखेका छन्। माईक समाएर गरेको भाषण निकै आकर्षक छ। सुन्दा परिवर्तन, काम र भविष्यको प्रतिज्ञा जस्तो लाग्छ। आकर्षक कुरा गरेकैले उनले त्यसलाई रकेर्ड गरेर फेसवुक पेजमा राखेका होलान। तर उनका भनाई खोतल्दै जाने हो भने अनेक प्रश्न, विरोधाभास र अस्पष्टताहरू देखिन्छन्।

चुनाव जित्नकै लागि के बोलेको, कसरी बोलेको, बोल्नलाई कुनै आधारहरु चाहिन्छन् की चाहिँदैन, बोल्ने बेलामा सोचिन्छ की सोचिँदैन ? भन्ने अनेक प्रश्न आउँछन्। उनले सुरुवातमै घोषणा गर्छन— ‘हामी भोट माग्न आएको होइन, हामी काम माग्न आएको हो। हामी काम गर्छौँ भनेर आएको हो, राजनीति गर्न आएको होइन।’ यो वाक्य सुन्दा जनतामा भगवान नै आए जस्तो लाग्छ। पुराना नेताका भाषण र ब्यवहारले वाक्क भईरहेका वेला उनको भाषणले सर्लक्कै जनताको मन छुन्छ। तर समस्या यहींबाट सुरु हुन्छ। किनकि यो पुरा वाक्य नै उनको आफनो होईन, धनगढीको भाषणलाई उनले उदयपुरमा कपी पेष्ट गरेका हुन।

यो भाषणको शैली र शब्दावली यसअघि रास्वपाकै वरिष्ठ नेता बालेन्द्र साहले फागुन ६ गते धनगढी पुगेर प्रयोग गरेका थिए। त्यसैले उदयपुरमा अहिले उठेको मुख्य प्रश्न भनेको ‘के यो नयाँ राजनीतिक सन्देश हो, कि केन्द्रिय कार्यालयबाटै तयार पारिएको भाषण ?’ आलोचकहरू भन्छन्, भाषण नै कपी–पेष्ट गर्ने नेताले विकास कसरी गर्ला ?

गेलालको दोस्रो दाबी अझ ठूलो छ। उनी बालबालिकाको भविष्य बनाउने, पैसा नहुनेले पनि गुणस्तरीय शिक्षा पाउने, स्वास्थ्य उपचार नपाई कोही मर्न नपर्ने, कृषकका लागि बीमा व्यवस्था हुने र भूमिहीनलाई लालपूर्जा दिने सरकार बनाउने कुरा गर्छन्। शब्दहरूको दृष्टिले यो निकै आकर्षक राजनीतिक घोषणापत्र जस्तो सुनिन्छ। तर ती वाक्यहरूलाई वास्तविकताको धरातलमा राखेर हेर्ने हो भने अर्को प्रश्न उठ्छ— यो सबै सम्भव कसरी हुन्छ?

देश अहिले विदेशी ऋणको भारमा चलिरहेको छ, उद्योगधन्दा छैनन्, उत्पादनशील क्षेत्र छैनन्, रोजगारीको आधार कमजोर छ। यस्तो अवस्थामा यी वाचा पूरा गर्न आवश्यक आर्थिक स्रोत, नीति संरचना र कार्ययोजना के हो भन्ने प्रश्नमा भने भाषण मौन देखिन्छ। धरैले विदेशी लगानीको आशा देखाउँछन्, उनले पनि यही कुरा गर्लान। किनकी मुलुकको उन्नतीका लागि अब अर्को कुनै उपाय देखिँदैन। तर, यो उपाय पनि सहज छैन। १५ मिनेटमा खरानी हुने देशमा लगानी गरिदिने कस्ले ?

भदौ २४ गते भएको आन्दोलन र त्यसक्रममा सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयदेखि निजी व्यावसायिक संरचनाहरू भाटभटेनी सुपरमार्केटका शाखा र चौधरी समूह (सीजी) को सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखानासम्ममा तोडफोड, लुटपाट र आगजनी भएको घटना आँखै अगाडि छ। प्रहरीलाई पेट्रोल बम हानेको, हतियार खोसेको, प्रहरी कर्मचारीलाई कुटीकुटी र घोचिघोची मारेको तथा नेपाली सेनाले हस्तक्षेप नगर्दा देशको अवस्था जर्जर बनेको विश्वले देखेको छ।

यस्तो परिस्थितिमा विदेशी लगानी आउने आधार कमजोर छ। लगानी, सुरक्षा र आर्थिक संरचना यति कमजोर भएको देशमा आफूले घोषणा गरेका शिक्षा, स्वास्थ्य, बीमा र भूमिसुधारका कार्यक्रमहरू कसरी लागू हुन्छन् भन्ने स्पष्ट खाका भने गेलालको भाषणमा देखिँदैन। उनले कसैलाई यी प्रश्नको उत्तर दिने गरेका पनि छैनन्।

गेलालले आफ्नो भाषणको अर्को भागमा भावनात्मक अपीललाई केन्द्रमा राख्छन्। उनी आमाहरू, दिदीबहिनी र भाउजुहरुलाई सम्बोधन गर्दै प्रश्न गर्छन— ‘तपाईंहरूको छोरा कहाँ छ, खाडीमा?’ उनी आफ्ना साथीहरू सबै मलेसिया, कतार, दुबईमा रहेको उदाहरण दिन्छन् र युवाहरू विदेशिनुको कारण गलत ठाउँमा भोट दिएको भन्दै सरकारलाई दोष दिन्छन्। यो तर्कले चुनावी भीडमा भावनात्मक असर पार्न सक्छ, तर यसले अर्को जटिल प्रश्न पनि जन्माउँछ। के दशौं वर्षदेखि चलिरहेको बेरोजगारी, कमजोर उद्योग, कृषि संकट र आर्थिक संरचनाको समस्या केवल मतदानको परिणाम मात्र हो?

यदि युवालाई स्वदेशमै रोक्ने हो भने उद्योग, उत्पादन, लगानी, बजार र नीति सुधारको दीर्घकालीन योजना आवश्यक हुन्छ। भाषणमा भने यस्तो संरचनागत समाधानभन्दा भावनात्मक प्रश्नहरू बढी देखिन्छन्।

अझ आलोचनात्मक विषय भनेको ठाउँप्रति उनको जवरजस्तीको अपनत्व हो। किनकि गेलाल स्वयं सुनसरीका बासिन्दा हुन् र स्थायी ठेगाना इनरुवा हो। उनी त्यहीँ उपमेयरमा चुनाव लड्दा ५२ मत मात्र पाएर पराजित भएका थिए। त्यसपछि उनी राजनीति गर्ने विकल्पनका रुपमा उदयपुर क्षेत्र नम्बर १ मा आएका हुन। बाल्यकालमा ज्यामिरे स्कुलमा पढेको प्रसंग उठाएर स्थानीय अपनत्व देखाउने प्रयास गर्नु उनको राजनीतिक रणनीति हो भन्नेमा मतदाताहरु विश्वस्त छन्।

आलोचकहरू भन्छन— यत्रो वर्षसम्म गाउँ सम्झना नआउने, साथीहरू खोजी नगर्ने र अहिले चुनावी समयमा मात्र भावनात्मक सम्बन्ध जोड्ने प्रयासले विश्वासको संकट उत्पन्न गरेको छ। युवाहरू खाडीमा भएको पीडालाई उनले चुनावी भाषणको मुख्य विषय बनाएका छन्। जसका छोराछोरी विदेशमा छन्, उनीहरुको भावनामा खेल्न खोज्छन्।

उनी भन्छन्– ‘… तपाईहरुको छोरो कहाँ छ, खाडीमा ? मेरा साथी त सवै खाडीमा छन्। दुई÷तीन जना मात्रै होलान नेपालमा। म पढ्दाखेरी सयौं जना थिए साथीहरु। एउटै पनि साथी छैनन, ज्यामिरे स्कुल पढदाका व्याजीहरु। सवै खाडीमा छ। मलेसिया छ, कतार छ, दुवई छ। त्यो कसले पठाको ? त्यो तपाईहरुले गलत ठाउँमा भोट दिएर सरकारले पठाको। पहिलेको सरकारले पठाको। हामीले गलत गाउँमा भोट दियौं, त्यही भोटले पठाको।’

‘अहिले तपाईहरुसँग छुट्टिएर वहाँ वस्दा, एक दिन विरामी भयो भने उसको अवस्था के हुन्छ ? त्यो सोच्नु भाछ तपाईहरुले ?’ भन्दै प्रश्न गर्छन। यही प्रश्नले उनी चुनाव जित्नका लागि निर्वस्त्र भएर भाषण गर्न थालेको संकेत गर्छ। जसका छोराछोरी विदेशमा छन्, उनीहरू त वर्षौँदेखि चिन्ता, पीडा र संघर्षमा छन्। यस्तो अवस्थामा उनीहरूलाई नै ‘तपाईंहरूलाई थाहा छ उनिहरुको पीडा?’ भनेर सोध्नु कस्तो राजनीतिक संवेदनशीलता हो? आलोचकहरूका अनुसार भाषणको यो शैली सहानुभूति भन्दा पनि भावनात्मक दबाब सिर्जना गर्ने जस्तो देखिन्छ।

यतिमात्रै होईन, उनको भाषा शैली हेर्दा लाग्छ– गेलालको सरकारले अव ति सवै खाडीमा भएका युवालाई नेपाल फर्काउँछ। अनि स्वदेशमा भएका युवालाई काखीमा च्यापेर राख्छ। तर, कसरी ? यसको योजना गेलालसँग छैन। नत जवाफ नै छ। उनी भन्छन्–‘तपाईहरुले गलत मान्छेलाई भोट दिनु भो र दुःख पाउनु भो। अव मलाई भोट दिनोस सुख पाउनु हुन्छ।’ तर, गेलालसँग अरु खराव भए भन्ने बाहेक कुनै नयाँ कुरा छैन। ‘म सही र उपर्युक्त पात्र हुँ’ भन्न उनीसँग जिद्दी होला, आधार छैन। उनि दिन पनि चाहँदैनन। स्थानीयवासी भन्छन्–‘गेलाल अरुलाई गाली गरेर आफु भ¥याङ चढ्ने दाउमा छन्। उनीसँग नत विकासको खाका छ, नत विश्वास।’

गेलालले अन्त्यमा मत परिवर्तनको आह्वान गर्छन्। उनी भन्छन— हाम्रो झण्डा बोक्नुपर्दैन, जयजयकार गर्नुपर्दैन, केवल यसपटक काम गर्ने अवसर दिनोस। सारमाः यो लोकतान्त्रिक आग्रह जस्तो लाग्छ। तर यहीँबाट सबैभन्दा महत्वपूर्ण प्रश्न सुरु हुन्छ। यदि मत बदल्ने हो भने किन बदल्ने? उनले चुनाव जितेपछि उदयपुर–१ मा शिक्षा, स्वास्थ्य, रोजगारी र विकासको क्षेत्रमा कस्तो ठोस परिवर्तन आउँछ ? आर्थिक स्रोत कहाँबाट ल्याउने ? स्थानीय संरचनामा के सुधार हुन्छ ? आफू र अन्य उम्मेदवारबीच वास्तविक फरक के हो?

यी प्रश्नहरूको जवाफ अहिले पनि गेलालसँग छैन। त्यसैले उनको भाषणले भीड तान्न सक्छ, भावनात्मक असर पनि पार्न सक्छ, तर अन्ततः राजनीति भाषणभन्दा नीति, योजना र कार्यान्वयनबाट मापन हुन्छ। उदयपुर–१ को चुनावी मैदानमा अहिले उठिरहेको बहस पनि यही हो— शब्दहरूको खेल खेल्ने की योजना देखाउने ? मतदाताले अब केवल नारा सुन्ने होइन, त्यसको आधार खोज्ने बेला आएको छ।

@sheershakhabarnews.com

उदयपुर–१ मा पारषमणि गेलालको भाषणको चिरफारः चुनाव जित्न जे पनि बोल्ने राजनीति

♬ original sound – Sheersha Khabar – Sheersha Khabar

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट