५ दिनअघि विदेशबाट फर्किएका श्रीमानमाथि मध्यराति खुकुरी प्रहारः श्रीमती पक्राउ
विराटनगर — मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलमा शनिबार राति श्रीमतीसँगै सुतिरहेका बेला एक व्यक्तिमाथि सांघातिक आक्रमण भएको छ। आक्रमणको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ३६ वर्षीय राजनकुमार अधिकारीमाथि राति करिब साढे दश बजे अचानक आक्रमण भएको हो। दिनभरको काम गरेर फर्किएका अधिकारी खाना खाएर सुतिरहेका थिए। त्यहीबेला उनीमाथि एक्कासि धारिलो हतियार प्रहार भएको थियो। आक्रमण यति क्रूर थियो कि उनको मुख, टाउको, हात र बायाँ कानलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।
घटनाको प्रकृति हेर्दा आक्रमण आकस्मिक नभई योजनाबद्ध ढङ्गले गरिएको हुन सक्ने प्रारम्भिक संकेत प्रहरीले गरेको छ। घाइते अधिकारीलाई घटनालगत्तै स्थानीयको सहयोगमा उद्धार गरी विराटचोकस्थित सुकुना सामुदायिक अस्पताल पु¥याइएको थियो। तर, उनको अवस्था गम्भीर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सारिएको छ।
अस्पताल स्रोतका अनुसार अधिकारीको अवस्था चिन्ताजनक छ। प्रहरीले अनुसन्धानको क्रममा अधिकारीकी पत्नी रञ्जना कार्की अधिकारीलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा उनले आफैंले श्रीमानमाथि खुर्पाले प्रहार गरेको स्वीकार गरेको बताएकी छिन्।
घटनास्थलको अवस्था र चोटपटकको प्रकृति हेर्दा घटनामा एक व्यक्ति मात्र संलग्न भएको भन्न सकिने अवस्था छैन। बाहिरी व्यक्तिको संलग्नता र योजनाबद्ध आक्रमणको सम्भावना देखिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीका अनुसार अधिकारीमाथि कुन हतियार प्रयोग गरिएको हो भन्ने विषयमा अझै स्पष्ट भएको छैन। तर प्रारम्भिक अनुसन्धानले घटनामा मिलेमतो वा पूर्वनियोजित योजना रहेको हुन सक्ने संकेत गरेको उनले बताएका छन्। प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाएको भन्दै घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको जनाएको छ।
स्थानीयका अनुसार आक्रमणमा परेका अधिकारी भर्खरै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। दुई वर्षअघि मलेसिया गएका उनी फागुन ५ गते मात्र घर फर्किएको प्रहरीले पनि जनाएको छ। घर फर्किएको केही दिनमै उनीमाथि भएको यो सांघातिक हमला केवल व्यक्तिगत विवाद मात्र हो वा त्यसपछाडि अन्य जटिल कारणहरू लुकेका छन् भन्ने प्रश्न अहिले अनुसन्धानको केन्द्रमा छ।
अहिले अधिकारीकी पत्नी रञ्जना कार्की अधिकारीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर सोधपुछ भइरहेको छ। घटनामा सम्भावित अन्य व्यक्तिको पहिचान र खोजीका लागि इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा प्रहरी टोली सक्रिय रूपमा परिचालन गरिएको छ। प्रहरीका अनुसार घटनाको वास्तविकता खुलाउन डिजिटल प्रमाण, घटनास्थलको विश्लेषण र सम्बन्धित व्यक्तिहरूको बयानलाई समेत गम्भीर रूपमा परीक्षण गरिँदैछ।
