गौरमा साम्प्रदायिक आगो निभाउन सुरक्षा निकायको ठूलो कारबाहीः सीके राउतका जिल्ला संयोजकसहित २३ हिरासतमा
रौतहट — साम्प्रदायिक संवेदनशीलताले बारम्बार तातेको गौर यसपटक पनि झडप, आगजनी र कफ्र्युको चक्रमा फस्दा सुरक्षा निकायले दुवै पक्षका २३ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झडपमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ, जसमा मुस्लिम समुदायतर्फबाट सक्रिय देखिएका सीके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेली समेत समेटिएका छन्।
सानो विवादले केही घण्टामै गौरका विभिन्न वडामा फैलिँदै हिंसात्मक स्वरूप लिएको थियो। प्रशासनले शुक्रबार नै दुवै समुदायलाई बोलाएर छलफल गराई सहमति गराएको दाबी गरे पनि शनिबार बिहानैदेखि स्थिति फेरि विस्फोटक बन्यो। सनगडा गाउँमा मुस्लिम समुदाय प्रार्थनामा रहेका बेला विवाहको बाजा बजेको विषयलाई लिएर विवाद सुरु भएको थियो। जुन ढुंगामुढा, झडप र आगजनीसम्म पुग्यो।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो। झडपको क्रममा प्रदर्शनकारीले कम्तीमा ६ वटा मोटरसाइकल र दुईवटा जिपमा आगजनी गरेका थिए। त्यसपछि प्रशासनले शनिवार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गर्यो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कर्फ्यु लगाएपछि मात्र अवस्था नियन्त्रणतर्फ फर्किएको हो।
प्रशासनले गौर नगरपालिकाको संवेदनशील क्षेत्रलाई घेरेर कर्फ्यु सीमा तोकेको छ। पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क तथा बम नहर क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म। कर्फ्यु लागू भएपछि सडक सुनसान बनेका छन् र कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन वा आवतजावतमा पूर्ण रोक लगाइएको छ।
यद्यपि जनजीवन पूर्ण रूपमा ठप्प नहोस् भन्ने उद्देश्यले आइतबार बिहान अत्यावश्यक कामका लागि कर्फ्यु दुई घण्टाका लागि खुकुलो पारिएको थियो। बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म नागरिकलाई सीमित आवतजावतको अनुमति दिइए पनि त्यसपछि पुनः कडा रूपमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
घटनाको गम्भीरताले केन्द्रसम्म तरंग पैदा गरेको छ। रौतहटका सीडीओ दिनेशसागर भुसालले स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म कर्फ्यु कायम रहने संकेत दिएका छन्। उता केन्द्रीय सुरक्षा समितिमा समेत मधेसको समग्र सुरक्षा अवस्थाबारे गम्भीर छलफल भएको छ र मैदानमा वस्तुस्थिति बुझ्न उच्च प्रहरी अधिकारीलाई खटाउने निर्णय गरिएको छ।
प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गर्दै कानुन हातमा लिनेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। तर पछिल्ला दिनहरूमा देखिएको घटनाक्रमले गौरमा साम्प्रदायिक तनाव कति छिटो विस्फोटक बन्न सक्छ भन्ने स्पष्ट संकेत दिएको छ। सानो भनिएको विवादले शनिबारसम्म आइपुग्दा शहरलाई कर्फ्युको घेराभित्र धकेल्नु आफैंमा चिन्ताजनक अवस्था बनेको छ।
अबस्था सुरक्षाकर्मीको नियन्त्रणमा आएको भनिए पनि स्थानीय बासिन्दामा अझै त्रास कायमै छ। शहरका धेरै स्थानमा सुरक्षा सतर्कता बढाइएको छ र सम्भावित पुनःझडप रोक्न सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ। घटनाले फेरि एकपटक गौरको सामाजिक संरचना, स्थानीय राजनीतिक हस्तक्षेप र साम्प्रदायिक संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
