संसदीय राजनीतिबाट ‘सन्यास लिएको’ सीके राउतको घोषणा
राजविराज— जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट आफू अलग हुने घोषणा गरेका छन्। उनले पद र संसद केन्द्रित राजनीतिबाट टाढा रहने स्पष्ट पार्दै अब आफ्नो ध्यान पुनः संघर्षको राजनीतितर्फ केन्द्रित गर्ने बताएका छन्। तर उनले राजनीति नै छाडेको नभई जनताको अधिकार, पहिचान र स्वराजको आन्दोलनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै राउतले आफूले दुई पटक व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको उल्लेख गरेका छन्। एक पटक विजयी भएको र अर्को पटक पराजित भएको भए पनि दुवै पटक निर्वाचनमा भाग लिएको निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।
राउतका अनुसार २०७५ सालमा सरकारले ‘स्वतन्त्र मधेश गठबन्धन’लाई कुनै पनि प्रकारको राजनीतिक गतिविधि गर्न नदिएको र जनतामाझ जाने बाटो बन्द गरिदिएपछि बाध्य भएर नयाँ राजनीतिक पार्टी खोल्ने निर्णय गर्नुपरेको थियो। उनले त्यसबेला जनकपुरमा बसेको छलफलमा नरेन्द्र प्रसाद चौधरीसहितका नेताहरूलाई पार्टी नेतृत्व लिन आग्रह गरेका थिए। तर कसैले पनि अध्यक्ष बन्न नमान्दा अन्ततः आफू नै जनमत पार्टीको अध्यक्ष बन्न बाध्य भएको उनले स्मरण गरेका छन्।
२०७९ सालको आमनिर्वाचनका बेला भने आफू व्यक्तिगत रूपमा चुनाव नलड्ने सोचमा रहेको र संस्थापक अध्यक्षको हैसियतले पार्टीलाई निर्वाचन पार गराउने भूमिका मात्र निर्वाह गर्ने योजना बनाएको बताएका छन्। भक्तपुरमा आयोजित पार्टी बैठकमा आफू समानुपातिक वा प्रत्यक्ष कतैबाट उम्मेदवार नबन्ने तर पार्टीको अभियानमा पूर्ण रूपमा लाग्ने धारणा राखेको उनले उल्लेख गरेका छन्। तर पार्टीका सहकर्मीहरूको निरन्तर आग्रहपछि अन्ततः आफू उम्मेदवार बन्न सहमत भएको उनले बताएका छन्।
साथीहरूले ‘यदि तपाईं चुनाव नलड्ने र पार्टीले एक सिट पनि नजिते, सुरु हुनुअघि नै पार्टी समाप्त हुन्छ’ भन्ने तर्क राखेपछि व्यक्तिगत इच्छा नभए पनि आफुले निर्वाचन लड्ने निर्णय गरेको उनले बताएका छन्। परिणाम सार्वजनिक भएपछि भने त्यो निर्णय सही सावित भएको उनको दाबी छ। आफूले प्रत्यक्षतर्फबाट एक सिट जित्दा समानुपातिक प्रणालीबाट थप पाँच सिट प्राप्त भएपछि जनमत पार्टी राष्ट्रिय पार्टीको हैसियतमा स्थापित हुन सफल भएको उनले बताएका छन्।
राउतले यसपटकको निर्वाचनअघि नै आफू पुनः चुनाव नलड्ने निर्णय गरिसकेको खुलासा गरेका छन्। चुनावभन्दा करिब छ महिना अघि नै आफुले सामाजिक सञ्जालमार्फत त्यसको संकेत गरेको उनले वताएका छन्। तर सप्तरी क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार खोज्ने क्रममा अन्तिम समयसम्म पनि निश्चित नाम नटुंगिएपछि परिस्थितिले फेरि उनलाई उम्मेदवार बन्न बाध्य बनाएको उनले बताएका छन्।
मनोनयन दर्ताको दिनसम्म पनि आफू चुनाव नलड्ने अडानमा रहेको र सप्तरीका दुवै क्षेत्रका लागि अन्य उम्मेदवारहरूको फारमसमेत भरिएको उनले बताएका छन्। तर पार्टीभित्रैका नेताहरू र कार्यकर्ताहरूले आफू उम्मेदवार नबने पार्टीको मनोबल घट्ने र त्यसको दोष अन्ततः आफूमाथि नै आउने भन्दै उनलाई पुनः उम्मेदवार बन्न दबाब दिएको उनले उल्लेख गरेका छन्। केही साथीहरूले चुनाव जितेपछि राजीनामा दिन सकिने सुझाव दिएपछि अन्ततः आफू पुनः मैदानमा उत्रिएको राउतको भनाइ छ।
आफू उम्मेदवार नबने पनि जनमत पार्टीले प्रत्यक्षतर्फ कम्तीमा चार–पाँच सिट जित्ने अनुमान उनले गरेका थिए। तर अन्ततः साथीहरूको सुझाव मान्दै चुनाव लड्नु उचित भएको उनले बताएका छन्। परिणाम सार्वजनिक भएपछि पुनः आफूले लिएको निर्णय सही रहेको अनुभूति भएको उनको दाबी छ।
यसपटकको अनुभवपछि अब संसदीय तथा पद केन्द्रित राजनीतिबाट विश्राम लिने निष्कर्षमा पुगेको उनले बताएका छन्। पदको मोह वा व्यक्तिगत महत्वाकांक्षाले आफूलाई राजनीतिमा अल्झाउन नदिनका लागि अहिले नै स्पष्ट निर्णय लिन आवश्यक ठानेको उनले बताएका छन्।
यद्यपि उनले राजनीति त्याग्ने कुनै योजना नभएको प्रष्ट पारेका छन्। जनताको अधिकार, पहिचान र स्वराजको एजेण्डालाई अघि बढाउने संघर्ष जारी रहने र आफू सधैं जनताको बीचमै रहने उनको भनाइ छ। उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीलाई सुदृढ बनाउने अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
